२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई



धनगढी, दोस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएको छ ।

चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन् । फलस्वरुप उम्मेदवारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकोले यो चुनावमार्फत् आफ्ना प्रतिनिधि चुन्न जनता आतुर देखिएको स्थानीय जागुराम चौधरी बताउछन् । ‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ,’ चौधरीले भने– ‘भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।’

उम्मेदवारले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरेपनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुनसकिरहेका छैनन् ।

अरु बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेता कार्यकर्ता अहिले हारगुहार गरेर मत माग्न आउने गरेको अनुभव धनगढीका मतदाता श्याम चौधरी सुनाउछन् ।

‘जो चुनिएर आए पनि उस्तै हो, रुचाएको उम्मेदवारलाई त भोट हाल्नै पर्ला,’ उनले भने । राज्यको पुनः संरचनासँगै पहिलो पटक हुनलागेको स्थानीय तहको चुनावमा चुनिएर आउने जनप्रतिनिधिलाई अधिकार बढी दिइएकोले पनि यो चुनावप्रति सर्वसाधारण र नेता कार्यकर्ताको चासो बढेको देखिएको छ । फलस्वरुप सबै दलमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य पदको टिकटका लागि खिचातानी बढेका छन् । टिकट वितरणमा किचलो देखिए पनि सबैले आ–आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

साविकका स्थानीय निकाय र सांसदको निर्वाचनका समयमा हुने चुनावी प्रचारप्रसारको शैली भन्दा यो चुनावको प्रचारशैली फरक ढङ्गको देखिएको छ । प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक टिव्टरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ । ‘यसअघिको चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यूनरुपमा भएको थियो, स्थानीय टिआर विनाडीले भने– “यसपालिको चुनावी प्रचारप्रसारमा भने समाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ ।”

चुनावी प्रचारका क्रममा विगत वर्षको जस्तो भित्ते लेखन, पम्ल्पेटिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । चुनावी चटारोकाबीच कैलाली जिल्लाका सबै स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, मओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, राप्रपाकाबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन मतदाताले गरिरहेका छन् । खासगरी सुदूरपश्चिम (प्रदेश नं. ७) को प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी चासोका रुपमा हेर्ने गरेका छन् ।

दलका उम्मेदवारबाहेक उपमहानगरपालिकाको प्रमुख पदमा उद्योगी एवं कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमालले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् ।

हमालले कांग्रेस, एमाले, राप्रपा, मओवादी केन्द्रका कतिपय मत आफ्नो पक्षमा पार्ने हुँदा कसको पक्षमा चुनावी नतिजा आउछ भन्न सकिने अवस्था नरहेको एकथरीको विश्लेषण छ । ‘एक भोट विकासलाई’ ‘छ भोट दललाई’ भन्ने नारासहित उनी प्रचारप्रसारमा जुटिरहेका छन् ।

तर दलका नेता कार्यकर्ताले भने आफूहरुको मत कतै प्रभावित नहुने दाबी गरेका छन् । नेकपा एमालेले उपमहानगर प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणि देवकोटा, माओवादी केन्द्रले प्रमुखमा रामसमझ राना थारु र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्री, राप्रपाले प्रमुखमा विष्णुबहादुर साहु र उपप्रमुखमा जनक कुँवरलाई उम्मेदवार बनाएको छ ।

संसद्को ठूलो दल कांग्रेसले भने अहिलेसम्म प्रमुख उपप्रमुखको टुङ्गो लगाउन नसकेको भए पनि वडास्तरका पदमा टिकट पाएकाले चुनावी अभियान गरिरहेका छन् । कांग्रेसले प्रमुखमा कृष्णबहादुर महरा वा नृप ओडमध्ये एक जनालाई र उपप्रमुखमा जीवन राना थारु, सुनिता राना वा सुशीला मिश्र भट्टमध्ये एक जनालाई उम्मेदवार बनाउन लागेको चर्चा बजारमा छ ।

प्रचारमा रहेका उम्मेदवारले मत माग्दा धनगढीको विकास र समृद्धि गर्ने भन्दै प्रस्तुत गर्ने गरेका योजना र चुनावी प्रतिबद्धता प्रायः समान छन् । तर विगतका चुनावका बेला गरिने प्रतिबद्धता कार्यान्वयन नहुने गरेको गुनासो रहेको अवस्थामा मतदाताले अहिले पनि उम्मेदवारले गरिरहेका प्रतिवद्धताप्रति खासै विश्वास गर्न भने सकेका छैनन् ।

धनगढी उपमहानगरपालिकाको यसअघि भएका निर्वाचनको मत आँकलन हेर्दा नेपाली कांग्रेस नै बलियो रहेको भए पनि अहिलेको परिस्थिति केही फरक रहेको कतिपयको भनाइ छ । १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००