१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाको नवनिर्वाचित जनप्रतिनिधिले गरे शपथग्रहण



काठमाडौँ, काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले बुधबार आयोजना गरेको प्रमाणपत्र वितरण एवं शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका हुन् ।

प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्षहरुलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा शपथ लिएका छन् ।

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताएका छन् । उनले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिइन् ।

कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिए ।

कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

नवनिर्वाचित प्रमुख उपप्रमुखले बुधबार नै पदभार ग्रहण गर्ने र त्यसपछि नगरसभाको पहिलो बैठक बस्नेछ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००