१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मजदुर भन्छन्– ‘चुनाव नलागे पनि भोट हाल्छौँ’



बनियानी (झापा), दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक नभएपनि मतदान गर्ने पक्षमा छन् ।

झापाको बिर्तामोडस्थित एक्सल बैंक नजिकै बालुवा चालिरहेका चारपानेका राजु मगरले चुनावको दिन काममा नजाने सोच बनाएका छन् । ‘काम नगरी मुखमा माड लाग्दैन’, उनले भने, ‘तर पनि मतदान गर्न छुटाउदिन ।’ चुनाव जनताभन्दा पनि नेताका लागि हुने उनको भनाइ छ । चुनावका बेला घरमै आएर धेरै आश्वासन दिए पनि कसैले पनि आश्वासन पुरा नगरेको उनको गुनासो छ ।

अर्जुनधारा नगरपालिकाका लोकबहादुर श्रेष्ठ सिटीबस चालक हुन् । हरेक दिन यात्रुलाई गन्तव्यसम्म पुर्याउँदै आएका उनी भन्छन्, “नेताले देशलाई शान्ति र समृद्धिको गन्तव्यसम्म पुर्याउन सकेनन् तर पनि यसपटक स्थानीय तहको निर्वाचनमा काम गर्ने मान्छे छोनेर मतदान गर्छु ।”

यस्तै, बनियानी घर भई विर्तामोड क्षेत्रमा मजदुरी गर्दै आएका मेसेरुदिन मियाँले गाउँमै ठूलो कम्पनी खोलेर बेरोजगारलार्इ रोजगार दिनुपर्ने बताए । उनले भने, “चुनावको दिन घर जाने चाजोपाँजो मिलाउँदै छु ।” बाह्रदशीका लालबहादुर राई सिटी रिक्सा चलाउछन् । पहिलो पटक मतदान गर्ने तयारीमा रहृका उनी भन्छन्, “मजदुरका जीवन सधै व्यस्त हुने भएकाले चुनावको चहलपहलले आफूलाई छोएको छैन। ”

यता, विर्तामोडकी निरो साह बिहानबेलुका मात्र चुनाव आएको जस्तो लागेको बताउछिन् । भन्छिन्, ‘‘बिहान बेलुका भोट माग्न आउछन्, दिनभर कामले गर्दा केही थाहा हुँदैन ।”

विर्तामोड झापाको प्रमुख व्यापारी केन्द्रका रुपमा विकास हुँदै आएकाले यहाँ छिमेकी जिल्ला इलाम, मोरङका साथै भारतीय नागरिक कामको सिलसिलामा आउने गर्छन् । गाउँघरमै रोजगारको व्यवस्था नहुँदा सहर धाउनुपर्ने उनीहरुको बाध्यता भएपनि स्थानीय तहको निर्वाचनले गाउँगाउँमा विकास पुग्ने र रोजगारी पाउने सुनेपछि उनीहरु निर्वाचनतर्फ आकर्षित भएका हुन् । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००