२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व छापामार गाउँपालिका प्रमुख



बागलुङ, बलले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने कुरा पूर्व छापामार प्रकाश घर्तीमगरले अहिले आएर प्रमाणित गरेका छन् ।

सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनलाई जनताको अभिमत स्विकार गरेर अघि बढनुपर्ने चुनौति सिर्जना भएको हो ।

घर्तीमगरले भने, “ विसं २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ, पछि विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र उपाध्यक्षसमेत भएँ ।” तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्ध चर्कंदै जाँदा उनी २०५८ सालमा सैन्य सङ्गठनमा प्रवेश गरेका थिए । सशस्त्र सङ्घर्षका बेला प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसमेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।

पार्टी शान्ति प्रक्रियामा आएपछि उनको राजनीतिक जीवनमा पनि फेरबदल आयो । “सेनाबाट निस्केपछि म माओवादीको युवा सङ्गठन वाइसिएलको जिल्ला अध्यक्ष भएर काम गरेँ’ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य छु । ” उनले भने । सशस्त्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले भने फेरिएको छ ।

शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो । विकासका योजना ल्याउने, जनताको पिरमर्कामा साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दण्डपाणि कँडेललाई दुई हजार ३९४ मतले पछि पार्दै उनी गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । कुल खसेको मतमध्ये घर्तीमगरले तीन हजार ३५० र कँडेलले ९५६ मत प्राप्त गरेका थिए ।

सशस्त्र युद्धबाट समेत बढी प्रभावित उक्त गाउँपालिकाका पाँचवटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । “सशस्त्र युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौँ” – घर्तीमगरले भने । जनताको विश्वासलाई डगमगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने र सबै राजनीतिक दल तथा पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ ।

सडक सञ्जालको स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधिलगायतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरले अघि बढाएका छन् ।

चुनाव प्रचारकै बेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाएका घर्तीमगरकी आमा, श्रीमती र एक छोरी छन् । उनकी श्रीमती केशरी घर्तीमगर व्यवस्थापिका– संसद् सदस्यसमेत हुन् । प्राकृतिक श्रोत, साधनले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने दायित्व पनि उनीसंग छ । गाउँपालिका उपप्रमुखमा पनि नेकपा माओवादीकै दिलकुमारी रोका विजयी भएकी छन् । प्रमुख, उपप्रमुखलगायत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर कामसमेत थालिसकेका छन् । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००