९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सचिव छाडेर उपप्रमुख बनेकी ताराकुमारीको माडीको मुहार फेर्ने धोको



नारायण ढुङ्गाना । रत्ननगर (चितवन), उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिइन् अहिले उपप्रमुखको कुर्सीमा पुगेकी छन् ।

माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि पहिलो दिन अाइतबार वडाध्यक्षसँग छलफल गरिन् । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु, खुसी हुँदै ताराकुमारीले भनिन्, अब बोझ बढेको छ ।”

उनको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोला नालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ । निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन । त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने, मेरो चिन्ता नै त्यही हो” ताराकुमारी भन्छिन् ।

गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारी काजी महतोलाई खासै चिन्ता भएन । पार्टीबाटै तपाईं आउनुपर्यो भनेपछि उनले राजीनामा दिएर उपप्रमुखको आकाँक्षा राखिन् ।

उपप्रमुख भए पनि र नभए पनि जागिर गुमेकोमा कुनै चिन्ता लागेन ताराकुमारी लाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” ताराकुमारीले भनिन् । एमाले पार्टीले तीन नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस गर्यो । पछि उनीको नाम अनुमोदन भयो ।

प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्तत जित उनकै भयो । उनले माओवादी केन्द्रकी सरिता चौधरीलाई हराइन् । माडीलाई इको नगर बनाउने, सुकुम्वासी समस्या समाधान गर्ने, खोलानाला व्यवस्थापन, जङ्गली जनावर आक्रमणको न्यूनीकरण तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उनले अठोट गरेकी छन् ।

माडीका स्थानीय गोविन्द न्यौपाने उनले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उनको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको छवी नै भएको दाबी गर्छन् । त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उनी उपप्रमुखमा निर्वाचित भएकी हुन् । दलित महिला सदस्यमा विजयी भएकी माडीकी इन्दिरा विक उनले अरुपार्टीको पनि मत जित्न सफल भएको बताउछिन् ।

त्रिचालिस वर्षीया ताराकुमारी काजी महतोको घर माडी–३ वसन्तपुर हो । प्लस टु पास गरेकी उनका दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक छन् । एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उनको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेको अनुभव सुनाइन् । २०६१ सालमा पहिलो पटक उनले जागिर सुरु गरिन् ।

युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाइन् । त्यसपछि उनले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाइन् । त्यसपछि माडी नगरपालिका बन्यो ।

उनी वडा नम्बर ३, ४, ५ को वडा सचिव बनिन् । त्यही वडा सचिव हुँदै गर्दा स्थानीय निकायको निर्वाचन आएपछि राजीनामा दिएर राजनीतिमा होमिएकी उनले अब विकासमा लाग्ने अठोट गरेकी छन् । उनी भन्छिन्, “अब मैले गरेर देखाउने दिन आएको छ ।” रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००