१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानीमा माओवादी, कनकासुन्दरी र पातारासीमा कांग्रेस विजयी



जुम्ला, तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीका गङ्गादेवी उपाध्याय विजयी भएका छन्

निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गरे ।

कनकासुन्दरी र पातारसीमा कांग्रेस विजयी

यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नरवीर रावत र उपाध्यक्षमा कांग्रेसकै उर्मिला भण्डारी विजयी भइकी छन् ।

रावतले दुई हजार ११३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिए ।

यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भएका छन् ।

निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गरेका छन् ।

तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी

तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा कांग्रेस र माओवादी केन्द्र तीन–तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, कांग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००