जेठ ८, जुम्ला । पातारासी गाउँपालिका– ३ महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन थालिएको छ । बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन् ।
स्थानीयवासीको श्रमदान तथा ७० लाख रुपैयाँमा बिजुली उत्पादन गरिएको हो । स्विट्जरल्याण्ड र अमेरिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण एकीकृत विकास सेवा (रिड्स नेपाल) को सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो ।
पतरासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले १ मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना तथा ५८ किलोवाट क्षमताको लुम जलविद्युत् आयोजनामा समेत गाउँपालिकाले करिब १ करोड रुपैयाँ लगानी गरेको छ ।
महरी गाउँमा सडक
पातारासी गाउँपालिका–३ महरी गाउँ सडक सञ्जालसँग जोडिएको छ । सडक नहुँदा बिरामीलाई स्टेचर र डोकोमा बोकेर छुमचौर स्वास्थ्यचौकीसम्म पु¥याउनुपर्ने बाध्यता थियो । यहाँबाट सदरमुकाम खलङ्गा पुग्न एक दिन लाग्छ ।
स्थानीवासी कृष्ण महरीले सडक पुगेपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन सजिलो हुने बताए । अध्यक्ष बोहोराले यहाँका हरेक बस्तीलाई सडक सञ्जालसँग जोड्ने काम भइरहेको बताए । रासस



प्रतिक्रिया