१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिनगर गाउँपालिकाका ९४ गाउँमा सडक पुग्यो



दीपक बोहरा

चैत २२, लमही । दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताए ।

“हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ” उनले भने, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले ग्रामीण क्षेत्रमा केही कठिनाइ भएको भए पनि चालू आवभित्रै सबै गाउँमा सडक सञ्जाल विस्तार गर्ने बताए ।

सात वडा रहेको उक्त गाउँपालिकामा अहिलेसम्म नौ किलोमिटर मात्रै सडक ओटासिल रहेको छ । साथै गाउँपालिकाले खानेपानीलाई पनि विशेष महत्व दिएको छ । अहिले तीन सिँचाइ योजनाको काम भइरहेको अध्यक्ष डाँगीले जानकारी दिए ।

विकटमा स्वास्थ्यचौकी

गाउँपालिकाले तीन स्वास्थ्यचौकी निर्माण गरेको छ । गाउँपालिकाको विकट क्षेत्रको वडा नं १, ३ र ५ मा तीन स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष डाँगीले बताए । वडा नं १ को पेदीखोला, ३ को बस्तेखोला र ५ को रगैँचामा स्वास्थ्य सेवा दिन थालिएपछि बिरामी उपचारकै लागि तीन घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए ।

“यसअघि उपचारका लागि बिरामी तीन घण्टा बढी हिँड्नुपर्थ्यो,” उनले भने, “तर अहिले स्वास्थ्य सेवा शुरु गरेपछि भने सहज भएको छ ।” साथै गाउँपालिकामा बिरामीलाई सहजरुपमा अस्पतालसम्म लैजान एउटा एम्बुलेन्स पनि खरीद गरिएको उनले बताए । साथै बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याएको अध्यक्ष डाँगीले जानकारी दिए ।

कृषिलाई तीन पकेटमा विभाजन

कृषिको लागि उपयुक्त रहेको उक्त गाउँपालिकाले कृषिलाई तीन पकेटमा विभाजन गरेको अध्यक्ष डाँगीले बताए । उनका अनुसार गाउँपालिकाको उत्तरी क्षेत्रलाई अदुवा, बेसार, तोरी तथा बाख्रापालनका लागि वर्गीकरण गरिएको अध्यक्ष डाँगीले बताए । त्यस्तै गाउँपालिकाको बीच भागलाई तोरी र गाईपालन तथा तल्लो भागलाई गहुँखेती तथा भैँसीपालनका रुपमा वर्गीकरण गरेको उहाँको भनाइ छ ।

यसरी वर्गीकरण गरेर गाउँपालिकालाई कृषिले समृद्ध बनाउने योजना रहेको उनको भनाइ छ । साथै किसानलाई प्रोत्साहन गर्न हातेट्र्याक्टर, मल, बीउ अनुदानमा उपलब्ध गराउने गरिएको अध्यक्ष डाँगीले बताए । साथै मौरीपालक किसानलाई ८० घार वितरण गरिएको छ । गाउँपालिकाका सबै बस्तीमा अझै विद्युत् पुग्न नसकेको समेत उनको भनाइ छ । उनका अनुसार वडा नं १, २ र ३ का केही बस्तीमा अझै पनि विद्युत् पुग्न नसकेको हो ।

सहयोगीको भरमा कृषि शाखा

दाङको बबई गाउँपालिकाको कृषि शाखा कार्यालय सहयोगीको भरमा चलिरहेको छ । करीब तीन चार महीनादेखि गाउँपालिकाको कृषि शाखा कार्यालय सहयोगी मात्रै कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “अहिले कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने मात्रै काम भएको छ” उनले भने, “अन्य कुनै पनि काम अघि बढ्न सकेका छैनन् ।”

कार्यालय प्रमुख सरुवा भएर गएपछि अहिले सहयोगी मात्रै रहेको उनले जानकारी दिए । बबईलाई विकट मानेर कर्मचारी आउन नमानेको उनको भनाइ छ । “कर्मचारीले बबईलाई विकट छ भनेर यहाँ आउन मान्नुभएको छैन” उनले भने, “तुलसीपुरदेखि २५ ३० किलोमिटरको दूरी धेरै टाढा होइन ।”

कर्मचारी नहुँदा अहिले कृषिका कुनै पनि कामहरु अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । कर्मचारी नहुँदा कुनै पनि काम गर्न नसिकने र बजेट पनि खर्च नहुँदा सोचेअनुसार विकास गर्न नसकिने बताए । उनका अनुसार चालू वर्षमा कृषि शाखाका लागि एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ००:००