५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमा गाउँपालिकामा लघुउद्यम विकास समिति गठन



विजय रावत

चैत १९, खलङ्गा । जुम्लाको हिमा गाउँपालिकामा उपाध्यक्ष हिमाली रोकायाको अध्यक्षतामा पाँच सदस्यीय गाउँ उद्यम विकास समिति गठन गरिएको छ ।

गाउँपालिकामा आज भएको लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बस्ती छनोट कार्यक्रमका अवसरमा सो समिति गठन गरिएको छ । उक्त समितिले उद्यम विकास कार्यक्रमका बारेमा जानकारी दिने, बस्ती छनोट गर्ने र गाउँमा उद्यम विकास समिति गठन गर्ने ग्रामीण परिवेश नेपाल जुम्लाका अध्यक्ष अमर रोकायाले जानकारी दिए ।

उद्योग मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र ग्रामीण परिवेश नेपालको सहजीकरणमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ । मेड्पा कार्यक्रम अन्तर्गत क्लष्टर नम्बर एक अन्तर्गत पर्ने उक्त गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागिएकाले गाउँकार्यपालिका सदस्य र विषयगत कार्यालयका प्रमुखलाई अभिमुखीकरण गराइएको छ ।

गाउँमा रहेको गरीबीलाई न्यूनीकरण गर्नको लागि उद्यम विकास कार्यक्रमले सहयोग गर्ने अध्यक्ष रोकायाले बताए । उनका अनुसार, विभिन्न व्यावसायिकमूलक तालीम तथा उपकरण उपलब्ध गराउने जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष हिमालीले गरीबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमले सहयोग गर्ने बताइन् । महिला तथा युवाले सिक्न चाहेको सीप सिकेर स्वरोजगार बन्न सकिने उनको भनाइ छ । उनका अनुसार कार्यक्रमले स्थानीय स्रोत, सीप र साधनको उपयोग गर्ने, रोजगारीको सिर्जना हुने, महिला र पछाडि परेका समुदायको आर्थिक सशक्तीकरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने छ ।

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यालय प्रमुख हरिभगत श्रेष्ठले गाउँमा रहेका महिला तथा युवालाई उद्यमी बनाइने बताए । गरीबीको रेखामुनि रहेका तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई रोजगारी तथा स्वरोजगार प्रवर्धन गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

महिला आत्मनिर्भरको बाटोतर्फ उन्मुख जुम्लाका महिला आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन् । चुलोचौकोमा सीमित रहेका जुम्लाका महिला सीपमूलक तथा आयआर्जनमूलक तालीम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्णाली प्राविधिक शिक्षालयले दुई महीने ऊनको हाते बुनाइ तालीम शुरु गरेको छ । सो तालीम जुम्लाको भारतीबाडामा शुरु गरिएको छ ।

स्थानीयस्तरमा पालिएका भेडाबाख्राबाट उत्पादित ऊनका झोला र पटुका बुन्ने तालीम लिएर महिला आत्मनिर्भरको बाटोमा अघि बढेको स्थानीय मागी बुढाले बताए । दुई महीने बुनाई तालीम लिएर स्थानीयस्तरमा उत्पादित ऊनबाट आफूहरूले सीप सिकेर विभिन्न प्रकारका झोला तथा पटुका बुनेर व्यापार व्यवसाय शुरु गर्ने अर्का स्थानीय महिला सरिता कार्कीले बताइन् ।

यही चैत ५ गतेबाट शुरु भएको उक्त तालीम आगामी जेठ १० गते सम्पन्न हुने सहभागी महिलाले बताएका छन् । दुई महीने तालीममा जुम्लाका विभिन्न गाउँपालिकाका २० महिलाको सहभागिता रहेको प्रशिक्षक सरस्वती भारतीले बताइन् । मुगुका १० महिला सहभागी रहेका उनले जानकारी दिइन् । जुम्लाका महिलाको आर्यआर्जनमा टेवा पुग्ने प्रशिक्षक भारतीले बताइन् ।

सीपमूलक तालीमका माध्यमबाट आत्मनिर्भर बनाउन र स्थानीयस्तरमा पालिएका भेडाबाख्राको ऊनलाई सदुपयोग गर्न पनि उनीहरूलाई तालीम दिइएको उनको भनाइ छ । तालीमले महिलालाई आत्मविश्वास बढाएको छ । महिलाले सिकेको ज्ञानसीप अरूलाई पनि सिकाउँदै जाने र सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने महिलाले बताएका छन । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००