१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्साहका साथ निर्वाचनमा होमिए मतदाता



रत्ननगर (चितवन), झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज आइतबार समाप्त भएको छ ।

लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । मतदाता बिहान सबेरै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे ।

बिहान ४ बजेदेखि नै मतदाताहरु लाइनमा बसेका थिए । भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाइनको अगाडि बसेकी छन् । “पहिला ३ बजे आ’थेँ, यसपालि ४ बजे, ” उनले भनिन् ।

अर्का मतदाता बाबुराम श्रेष्ठ पनि बिहान ४ बजेदेखि लाइनमै छन् । “धेरै वर्षपछि आएको चुनाव भोट त हाल्नै पर्यो नि,” श्रेष्ठले भने, “म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु ।”

उनीहरुजस्तै यहाँ भोट हाल्ने मतदाताको लाइन लामो भइसकेको छ । यो ऐतिहासिक अवसर गुमाउन चाहँदैनन् भन्ने कुरा आज चितवनको भरतपुरस्थित नारायणी नमुना उच्च माविको मतदान केन्द्रमा भोटहाल्न सहभागी भएका मतदाताबाट देखिन्छ । केटाकेटीहरु रमाइलो हेर्न आएका थिए भने युवा, प्रौढ र वृद्धवृद्धाको राम्रै सहभागिता भयो ।

विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् ।

दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।

मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरुको छ ।

अहिलेको निर्वाचनले जनप्रतिनिधिहरु छानिने र उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास रहेको एकजना मतदाता प्रकाश भट्टराई बताउछन् ।

पाँचवटा मतदान केन्द्र रहेको नारायणी उच्च मावि मतदानस्थलमा सबै तयारी पूरा भएकाले निर्धारित समयमै मतदान सुरु हुने मतदान अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिए । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७४, आइतबार ००:००