७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा



किरण भट्टराई । काठमाडौं, आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।

निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् । नेपाली सेना ३१ हजार, नेपाल प्रहरी २२ हजार ६९५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २४ हजार ७७७ जना निर्वाचनका लागि परिचालन हुनेछन् ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतकशा ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिनिधि छनौट हुनेछ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

केन्द्रीयतहमा सुरक्षा योजना बनाइ क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ । निर्वाचन हुने सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको उनको भनाइ छ । प्रवक्ता पन्थीका अनुसार निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ ।

निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपछिको सुरक्षा गरी तीन चरणको सुरक्षा तयारी गरी कार्यान्वयनमा लगिसकिएको पन्थीले बताए । गृह मन्त्रालयले सुरक्षा कमजोरी देखिए तत्काल त्यसलाई सच्याउँदै संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाएको छ ।

“पूर्ण सुरक्षा योजना निर्वाचन सकिने बेलासम्म बनिरहन्छ । अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनको बेला सामान्य बन्नसक्छ,” उनले भने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ । पछिल्लो समय आगजनी, बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा सो पार्टीको संलग्नता देखिएपछि उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

प्रवक्ता पन्थीले लुकिछिपी एकाध ठाउँमा निर्वाचन विरोधी गतिविधि भए पनि त्यो समूह प्रभावकारी नभएको बताए ।

निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा

नेपाली सेनाको प्रवक्ता झङकरबहादुर कडायतले निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौँ, पोखरा, सुर्खेत र हेटौँडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए ।

सुरक्षाका लागि आवश्यक काममा मद्दत गर्ने तथा निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री पुर्याउने काममा ती हेलिकप्टर प्रयोग भइरहेको उनले बताए । पहिलो चरणको निर्वाचनमा करिब ३१ हजार नेपाली सेना सुरक्षाका लागि खटिने र उनीहरुले बाहिरी घेरामा रहेर सुरक्षा दिने छन् ।

सेनाले सुरक्षाको प्रत्याभूति दिन अहिले नियमित गस्ती गरिरहेको छ । त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै विष्फोटक पदार्थ निष्क्रिय पार्नका लागि समेत विभिन्न जिल्लामा टोली तयारी अवस्थामा राखिएको छ । विमानस्थल, कारागारलगायत कतिपय स्थानमा खटिएका प्रहरी निर्वाचनमा खटिएपछि जिल्ला सुरक्षा समितिको आग्रहमा सो ठाउँको सुरक्षाको जिम्मा समेत सेनाले लिएको छ । रासस

प्रकाशित मिति : ३० बैशाख २०७४, शनिबार ००:००