माघ २३, गलकोट । स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ । बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
क्याम्पसका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरपालिकाले गर्ने गरी क्याम्पस सञ्चालन गर्न लागिएको हो । बागलुङमा स्नातक तहको कृषि विज्ञान क्याम्पसलाई जग्गा व्यवस्थापन भइसकेकोे बाग्लुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिए ।
“कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पस सञ्चालन गर्न आवश्यक प्रक्रियाको टुङ्गो लागएका छौँ,” पौडेलले भने, “कार्यपालिकाबाट निर्णय गरेर क्याम्पस सञ्चालनका लागि पोखरा विश्वविद्यालय पठाइएको छ ।”
पोखरा विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहमत भएको छ । नगरले क्याम्पसका लागि २० रोपनी जग्गा प्राप्त गरिसकेको छ । अन्य जग्गाको व्यवस्थापनका लागि अन्तिम टुङ्गो लाग्न बाँकी छ ।
बाग्लुङ नगरपालिका–४ निरयघाटमा पन्त गुठीको नाममा रहेको व्यक्तिगत जग्गा नगरपालिकाले निःशुल्क लिएर क्याम्पस निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । जग्गा दातासमेत क्याम्पस सञ्चालनका लागि नगरपालिकालाई जग्गा प्रदान गर्न इच्छुक रहेको बताइएपछि क्याम्पस सञ्चालन गर्ने तयारी थालिएको थियो । निरयघाट बागलुङ, म्याग्दी र पर्वतका विद्यार्थीलाई पायक पर्ने स्थान भएको प्रमुख पौडेलले बर्ता ।
गैरनाफामूलक शैक्षिक संस्थाका रुपमा विकास गर्नका लागि स्थानीय सरकारको साझेदारीमा क्याम्पस सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिका र पोखरा विश्वविद्यालयका मध्यस्थकर्ता निर्मल सापकोटाले बताए । सुरूमा क्याम्पसमा ५० विद्यार्थीलाई अध्यापन गराइनेछ । रासस




प्रतिक्रिया