१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल, १ विशेषज्ञ चिकित्सक



माघ ११, काठमाडौं । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि हाल पालिकामा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अगाडि बढाएको छ । ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताए ।

मन्त्रालयका अनुसार अझै पनि पालिकाअन्तर्गतका एक हजार २०० वडामा कुनै स्वास्थ्य सेवा गर्ने संस्था रहेका छैनन् । स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल शुरु गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा शुरु गर्ने जनाएको छ ।

हाल कति पालिकामा १५ शैयाको अस्पताल सञ्चालन छन् ? यसको विवरण मन्त्रालयले सङ्कलन गरिरहेको छ । राज्यमन्त्री डा यादवले भने, “पालिकाबाट आएका विवरणका आधारमा कति स्वास्थ्य संस्थालाई स्तरोन्नति आवश्यक हुन्छ जानकारी पाइन्छ ।”

पालिका तहमा अस्पताल सञ्चालन गर्न आर्थिक अभाव रहेको र आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए । साथै चिकित्सा उपकरण तथा औषधि खरीद प्रक्रियालाई सरल बनाउन सार्वजनिक खरीद ऐन तत्काल संशोधनको आवश्यकता रहेको राज्यमन्त्री डा यादवले बताए ।

सङ्घीयता कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय अग्रणी

सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका संरचना तथा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण तथा प्रत्यायोजन सम्पन्न गरेको छ ।

संविधानको अनुसूचीअनुसार मन्त्रालय अन्तर्गतका संरचना तथा विभिन्न ११ वटा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरी सङ्घीयता कार्यान्वयनमा मन्त्रालयले उदाहरणीय काम गरेको हो ।

राज्यमन्त्री डा यादवले भने, “यसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई सहयोग पुग्छ ।”

यसअघि मन्त्रालयले स्थानीय तहलाई संविधानका अनुसूचीले निश्चित गरेका संरचनालाई हस्तान्तरण गरेको थियो । विशेषज्ञता स्वास्थ्य सेवा दिने केही अस्पताल तथा प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयले संघ अन्तर्गत राख्ने निर्णय संविधान अनुसार नै गरेको छ ।

हस्तान्तरण गरिएको संरचनामा मन्त्रालय साविकका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, तालीम केन्द्र, मेडिकल स्टोर, उपक्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय, तोकिएका क्षेत्रीय, अञ्चल , जिल्ला अस्पताल, क्षेत्रीय आयुर्वेद चिकित्सालय, अञ्चल आयुर्वेद औषधालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । रासस

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ००:००