१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरः स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु



पुस २०, चितवन । भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालीम दिएर एक सय पाँच जनालाई घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रमा खटाएको हो ।

सर्वेक्षणका संयोजक वीर्ख क्षेत्रीका अनुसार महानगरभित्र प्रारम्भिक रुपमा ७५ हजार घरधुरी रहेको अनुमानमा ती गणक खटाइएको हो । यद्दपि घरधुरी सङ्ख्या बढी भएमा गणक थपिने छ ।

क्षेत्रीका अनुसार तीन दिनको प्रारम्भिक विषय वस्तु, दुई दिनको नमूना फर्म भर्न सिकाएर र दुई दिनको पुनःअभिमुखिकरण तालीम गराएर उनीहरुलाई कार्यक्षेत्रमा पठाइएको हो । उनीहरुले ३५ वटा शीर्षकको हरेकमा एक सय भन्दा बढी प्रश्न घरधनीलाई सोध्ने छन् ।

क्षेत्रीका अनुसार घरपरिवार, घरको बनोट, परिवारको सङ्ख्या, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार पहुँच, घरभित्रका सामग्री, रोजगारी तथा पेशा, सीप, यातायात सुविधा लगायतका शीर्षकमा प्रश्न सोध्ने छन् । दुई महीनामा उनीहरुको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनीहरुसँगै एक जना कार्यक्रम संयोजक, एक जना फिल्ड संयोजक र तीन जना सुपरिवेक्षक खटिएका छन् ।

यसैगरी पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग लगायतका विषयमा सम्बन्धित कार्यालय, संस्था र वडा समितिसँग छलफल गरिने क्षेत्रीले बताए । दुबै तर्फको तथ्याङ्क सङ्कलन भएपछि महानगरको स्मार्ट सिटीका लागि गुरुयोजनाको कार्य अगाडि बढ्ने छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको बताइन् । कामलाई सकेसम्म चाँडो सकेर गुरुयोजना निर्माण गरिने उनले बताइन् । आफ्ना सूचना सहज उपलब्ध गराइदिन महानगरवासीसँग आग्रह गरिएको पनि दाहालले बताइन् ।

भरतपुर महानगरपालिकाका आर्किटेक इञ्जिनीयर अस्मिता खनालले देशका १० शहरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार भरतपुर महानगर पनि स्मार्ट सिटी निर्माणमा अघि बढेकाले गुरुयोजना निर्माणका लागि तथ्याङ्क सङ्कलन थालिएको बताइन् । उनले स्मार्ट सिटीमा सबै कुरा स्मार्ट हुनुपर्ने भएकाले पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको बताइन् । रासस

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार ००:००