१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हरित पार्क’ निर्माण गर्न वातावरण विभाग र भरतपुर महानगरबीच सम्झौता



पुस १८, रत्ननगर । ‘हरित पार्क’ निर्माणका लागि वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा विभागका महानिर्देशक झलकराम अधिकारी र महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका हुन् ।

प्रशासकीय अधिकृत सुवेदीका अनुसार १५ वर्षका लागि हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ तथा उद्योग प्रतिष्ठानको वातावरणीय अनुगमनसम्बन्धी ३ नं प्रदेशको अभिमुखीकरण कार्यशाला गोष्ठीमा उक्त सम्झौता गरिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले वातावरण विभाग र महानगरबीच भएको हरित पार्क निर्माणको सम्झौताले महानगरलाई हरियाली बनाउने अपेक्षा गरेकी छन् । उनले सरसफाइमा महानगर नमूना बन्दै गइरहेको बताइन् ।

उनले महानगरले नदी किनार र राजमार्गको सरसफाइलाई प्राथमिकता दिएको जानकारी दिइन् । प्रमुख दाहालले सडकमा फोहर फाल्नेलाई जरिवाना लगाइएको र त्यसको २५ प्रतिशत सूचना दिनेलाई पुरस्कार दिइने निर्णय गरिएको बताइन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले कार्यक्रममा उपस्थित वक्ताले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा महानिर्देशक अधिकारी, वन तथा वातावरण मन्त्रालयका सहसचिव रघुनाथ पराजुली र विभागका उपसचिव शङ्करप्रसाद पौडेलले सरसफाइसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

विभागले नेपाल स्वच्छ वातावरण महाअभियानको दोस्रो संस्करणको कार्यशाला भरतपुर महानगरमा गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । रासस

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार ००:००