१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको सम्पूर्ण कामकाज एउटै कोठाबाट



पुस १७, खोटाङ । एउटा लामो टहरोभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । कर्मचारीदेखि जनप्रतिनिधिहरू जनतालाई सेवा प्रत्येक दिन त्यही टहरोमै लहरै बसेका हुन्छन् । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसक्दा पनि यहाँ यो क्रम यथावत छ ।

देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशका कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत भएपनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदूर दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाका भने अझैसम्म टहरोमै गुजारा गर्दै आएको छ, त्यो टहरो पनि पनि एक स्थानीय विद्यालयको स्वामित्वको हो ।

स्थानीय बालकन्या आधारभूत विद्यालयले उपलब्ध गराएको एउटा टहरोभित्र स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटै कोठा भएको उक्त टहरोभित्र दर्ता चलानी शाखादेखि प्रमुख बस्नेसम्मको ठाउँ लहरै छ ।

टहरोभित्र लहरै राखिएका टेबलकुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत आदि ।

यसैगरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य बस्ने ठाउँ पनि छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी बस्ने ठाउँ त अन्य कर्मचारी बसिसकेपछि बाँकी रहेको कुर्सी हो । बस्नै मन लागे लहरै राखिएको बेञ्चमा बस्नुपर्ने बाध्यता छ ।

यस्तो स्थितिका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भने, “तत्कालका लागि अस्थायी रुपमा विद्यालयले दिएको टहरोबाट सेवा प्रवाह गरिरहेका छौँ । अब चाँडै नै आफ्नो व्यवस्थित भवन बनाउन लागिरहेका छौँ ।” उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको र यही आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी गरिएको छ । भवन निर्माणका लागि गाउँपालिकाले ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहरोबाट सबै प्रकारका सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत असहज भएको बताए । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको उनको भनाइ थियो ।

सेवाग्राहीका लागि एउटै कोठाबाट गाउँपालिकाको सबै सेवा लिन सहज भए पनि कर्मचारीका लागि भने असहज भएको छ । कार्यालयको कतिपय सूचना गोप्य राख्नुपर्ने भएकाले एउटै कोठामा काम गर्दा असहज भएको सम्बद्ध कर्मचारीले बताए ।

भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र जग्गा पनि निःशुल्क प्राप्त भएकाले यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिने गाउँपालिकाले जनाएको छ । भवनका लागि सर्वेक्षण र नक्सानको काम भइसकेको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार ००:००