५ चैत्र २०८०, सोमबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकामा सूचना राजमार्गः सबै सेवा डिजिटल

नगरपालिकाकाे सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरूलाई सूचना राजमार्गमार्फत केन्द्रीय सर्भरमा जोड्दैछ ।



रुपन्देही । देशका सबैजसो ठाउँमा स्थानीय तहको केन्द्र वा वडा कार्यालयसम्म धाएर नागरिकले सेवा लिनु पर्ने बाध्यता छ । स्थानीय तहभित्रै पनि वडा कार्यालय, स्वास्थ्य चौकीजस्ता निकायहरूले पालिकाको केन्द्रमा धाएर आफ्नो आन्तरिक काम गर्नु पर्ने बाध्यता छ ।

यस्तो बाध्यताका बीच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरूलाई सूचना राजमार्गमार्फत केन्द्रीय सर्भरमा जोड्दैछ ।

“फाईबर कनेक्टिभिटीमाफर्त १७ वटा वडा कार्यालय र १७ वटै स्वास्थ्य चौकीलाई केन्द्रीय डाटा सेन्टरमा जोडिरहेका छौँ । यसले वडा र स्वास्थ्य चौकीहरू केन्द्र धाउनु पर्ने बाध्यता हट्दैछ भने नगरपालिकाको आन्तरिक नियन्त्रणलाई मजबुद बन्दैछ,” इञ्जिनियर सुदीप ढकाल भन्छन्, “नागरिकले व्यवसाय दर्ता गर्न, कर तिर्न, सिफारिस लिन, बसाइँसराईको निवेदन दिन र लिन नगरपालिकाको केन्द्र वा वडा कार्यालय धाउनु पर्दैन । सबैजसो सेवा एपबाट लिन सक्छन् ।”

नगरपालिकाको सेवा लिँदा नागरिकको ६० प्रतिशतसम्म समय र पैसा बचत हुनेछ । सबै ठाउँमा फाइबर बिस्तार भए पछि आन्तरिक राजश्व उठाउन सहज हुने र इन्टरनेट सेवा प्रदायकहरू नै करदाताको रुपमा आउने नगरपालिकाको दाबी छ ।

नगरपालिकाले तयार कार्यक्रमको प्रस्तावअनुसार इन्टरनेट सेवाप्रदायकबाट मात्रै बार्षिक ४० देखि ५० लाख रुपैयाँसम्म आन्तरिक राजश्व उठाउन सकिनेछ ।

नगरपालिकामा सञ्चालन हुने तालिमहरूलाई पनि ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ मार्फत व्यवस्थित गर्ने तयारी रहेको ढकालले जानकारी दिए ।

यसैगरि पढाई छोडेका युवाहरूलाई पनि लर्निङ सेन्टरबाट सीप विकास तथा रोजगारसम्बन्धी निशुल्क अनलाईन कक्षाहरू सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तिलोत्तमा एजुकेसन एपमार्फत निशुल्क अंग्रेजी कक्षाहरू सञ्चालन गर्ने पनि लक्ष्य लिइएको छ । इन्टरनेट पहुँच सहज भए पछि नगरपालिका र वडाहरूलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखेको छ ।

नगरपालिकाको केन्द्र, वडा कार्यालय र स्वास्थ्य चौकीहरूमा जडान गरिएको सीसी टिभीको रेकर्डहरूलाई पनि केन्द्रीय सर्भरमा एकीकृत तरिकाले व्यवस्थापन गर्नेछ ।

यस कार्यक्रमले सिद्धार्थ राजमार्गको योगीकुटीदेखि कटैयासम्म वाईफाई फ्री गरेको छ । प्रत्येक ३/३ सय मिटरमा राउटर राखिएको छ । साथै सिद्धार्थ राजमार्गको शंकरनगरदेखि नगरपालिकाको केन्द्रसम्म पनि फ्रि वाईफाई राखिएको छ ।

“सूचना प्रविधालाई सहज बनाउन फ्रि वाईफाई जोनहरू बनाएका हौँ,” ढकालले भने, “प्रभावकारितालाई हेरेर ५० ठाउँमा फ्रि वाईफाई जोन बनाउनु पर्ने देखिन्छ ।” नगरपालिकाको यो कार्यक्रमबाट ६५ हजार नगरवासी लाभान्वित हुने दाबी छ ।

यस कार्यक्रमका लागी प्रदेश तथा स्थानीय शासन कार्यक्रमको नवप्रवर्तन साझेदारी कोष (आईपीएफ) र तिलोत्तमा नगरपालिका २ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आईपीएफले स्थानीय तहले प्रस्ताव गरेका सृजनशील प्रकृतिका कार्यक्रमहरूलाई बजेट विनियोजन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००