३० फाल्गुन २०८०, बुधबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिहरपुरगढी गाउँपालिकाः तरकारी र दूग्ध उत्पादनको बजारीकरण

कृषकलाई तालिम दिए पछि सिजनको चिचिन्डा, लौका, घिरौँला, गोलभेँडा, करेलाजस्ता लहरे तरकारी उत्पादन गर्न थालिएको छ ।



तरकारी तथा दुग्ध उत्पादन ढुवानीका लागी गाउँपालिकाले हालसालै खरिद गरेको गाडीहरू ।

सिन्धुली । धेरैजसो स्थानीय तहहरूले बितरणमुखी र अनुत्पादक क्षेत्रमा मात्रै बजेट खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालय, संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूले गुनासो गर्दै आएका छन् ।

तर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषी तथा पशुपालन कार्यक्रम सञ्चालन गरि गरिबी न्यूनीकरणमा उदाहरणीय काम गरिरहेको छ ।

प्रदेश तथा स्थानीय शासन कार्यक्रमको नवप्रर्वतन साझेदारी कोष (आईपीएफ) को १ करोड ४२ लाख रुपैयाँ र गाउँपालिकाको ६३ लाख ६० हजार रुपैयाँमा सञ्चालित ‘हरिहरपुरगढी दुग्ध तथा आधुनिक तरकारी खेती आयोजनाले २ सय घरधुरीलाई प्रत्यक्ष लाभान्वित पु-याउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाको आर्थिक विकास शाखाका प्रमुख दिपक कार्कीका अनुसार दुई वटा सहकारी गठन गरि १० वटा तरकारी तथा दुध उत्पादन कृषक समुह गठन भइसकेको छ । १५ वटा व्यवसायिक फार्म दर्ता भइसकेका छन् । यसैगरि घाँसको बिरुवा तथा बिउ बितरणसम्बन्धि २ वटा कार्यक्रम पनि सम्पन्न भइसकेको छ ।

“यहाँ पहिले खेतीयोग्य जमीन प्रशस्त हुँदाहुँदै पनि तरकारी र दुग्धजन्य उत्पादन थोरै हुन्थ्यो,” कार्कीले भने, “अहिले कार्यक्रम सञ्चालन भएपछि सबैजसो कृषक परिवार दूध र तरकारी उत्पादनसँग जोडिन थालेका छन् ।”

अहिले हरिहरपुरगढीमा २ वटा सुरक्षित नर्सरी घर निर्माण गरि उन्नत तरकारीको बिरुवा उत्पादन तथा बेर्ना बितरण भइरहेको छ । यसैगरि ८० वटा परम्परागत गोठ सुधार गरि सकिएको छ भने २ वटा दुध चिस्यान केन्द्र सञ्चालन गर्न तयारी पुरा भइसकेको छ । ८ वटा ब्लकमा उन्नत जातको खरबुजा रोप्ने काम सकिएको छ ।

“यहाँ पहिले तरकारी र दूध बेच्ने त परै जाओस्, आफूले खाने तरकारी पनि रोप्दैन थिए । दूध पनि पाउँदैन थियो । अहिले आफू खाने मात्रै होइन, बजारमा बेच्ने अवस्थामा पुगेको छ,” कार्कीले भने, “कार्यक्रमले दोहोरो फाईदा भएको छ । पहिलो, विपन्न परिवारको गरिबी न्यूनीकरणमा टेवा पुग्दैछ । दोस्रो, उनीहरूको पोषणमा उल्लेख्य सुधार हुँदैछ ।”

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १३ किमी टाढा रहेको हरिहरिपुरगढीलाई हालै निर्माणसम्पन्न हुने क्रममा रहेको मदनभण्डारी राजमार्गले छोए पछि बजारसम्मको पहुँच सहज भएको छ । यसै बर्षदेखि तरकारी र दुध बजारमा पु¥याउन थालिएको छ ।

“यसपालीदेखि थोरै भए पनि उत्पादन निर्यात हुन थालेको हो । काठमाडौं, हेटौँडा र सिन्धुली मुख्य बजारहरू हुन् । २ सय घरपरिवारलाई उत्पादनमा लगाउने हाम्रो लक्ष्य पुरा भए ६० प्रतिशत निर्यात गर्न सकिन्छ,” कार्कीले भने, “दूध उत्पादन दैनिक २ हजार लिटर पु-याउने लक्ष्य छ । सुरूवाती अवस्थामा भएको हुँदा तरकारीको लक्ष्य भने तोक्न बाँकी छ ।”

गाउँपालिकाले १० देखि १२ टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण गर्ने तयारी गरिरहेको छ । यसैगरि दूध र तरकारी ढुवानी गर्न २ गाडी खरिद गरि सहकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

पशु औषधी बितरण

पालिकाको केन्द्र र सर्लाहीको सीमा क्षेत्रमा पर्ने वडामा एक/एक वटा सहकारी गठन गरि तरकारी तथा दूध उत्पादन गर्न कृषकहरूलाई संगठित गरिएको छ । उत्पादन ढुवानी गर्ने गाडीहरू त्यही सहकारीहरूलाई हस्तान्तरण गरिएको हो ।

“कृषकलाई तालिम दिए पछि सिजनको चिचिन्डा, लौका, घिरौँला, गोलभेँडा, करेलाजस्ता लहरे तरकारी उत्पादन गर्न थालिएको छ,” कार्कीले भने, “घरेलु उद्यम, कृषी र पशुपालनबाटै स्थानीयवासीलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने गाउँपालिकाको विश्वास छ ।”

विद्यालयमा पनि पढ्दै तरकारी खेती गर्दै

हरिहरपुरगढीमा दुई वटा सामुदायिक आवसीय विद्यालय छन् । विद्यालयको नाममा जग्गा भाडामा लिएर विद्यार्थीहरूलाई तरकारी खेती गर्न लगाइएको छ ।

“विद्यार्थीले आफूले खाने तरकारी उनीहरू आफैँले उत्पादन गराउने तयारीमा छौँ । यसले उनीहरूमा तरकारी आफैँले उत्पादन गर्ने सँस्कार बस्नेछ । साथै उनीहरूले आफ्ना आमाबुवालाई पनि तरकारी खेती र त्यसको महत्वबारे सिकाउने छन्,” कार्कीले भने ।

देखिन थाल्यो सकरात्मक नतिजा

हरिहरपुरगढी गाउँपालिका वडा नं. २ की ममतामाया सिङतान सामान्य आर्थिक हैसियतकी कृषक हुन् । परम्परागत कृषी पेसामा संलग्न सिङतान र उनको परिवारलाई घर खर्च टार्न पनि धौधौ पर्ने गर्दथ्यो ।

तरकारी खेती गरेर पैसा कमाउन सकिन्छ भन्ने कुरा थाह थिएन । सिङतानले आईपीएफ र गाउँपालिकाले सञ्चालन गरेको यस आयोजनाको सहकार्यमा नियचुङ कृषी तथा तरकारी फार्म स्थापना गरेकी छन् ।

आयोजनाले दिएको बीउ, बेर्ना र प्रविधिक परामर्शमा आफ्नै फार्मबाट २ लाख रुपैयाँ आम्दानी गरिसकेकी छन् । यसबाहेक २ जनालाई आफ्नो फार्ममा रोजगारी दिएर आफूले केही पैसा बचत गरेकी सिङतानले बताएकी छन् । अहिले उनको फार्ममा बोडी, गोलभेँडा, खोर्सानी, भान्टाजस्ता तरकारीहरू फलिरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००