१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिनगर वनलाई आकर्षक पार्कका रुपमा विकास गरिने



नारायण अधिकारी

पुस १०, चितवन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ ।

नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको शालिक छ भने सँगै तीन टहरा रहेका छन् । शालिक जीर्ण बनेको छ । टहरा प्रयोगविहीन छन् । जताततै झाडीले ढाकिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सो ठाउँलाई आकर्षक पार्कका रुपमा विकास गर्न लागिएको बताइन् । हाल अत्यावश्यक कामका लागि ४० लाख विनियोजन गरेर काम थालेको र राष्ट्रिय गौरवको आयोजनाका रुपमा नगरवनलाई राखेर काम गर्ने सोच बनाएको उनी बताउछिन् । “गुरुयोजना तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरेर देशकै महत्वपूर्ण पार्कका रुपमा विकास गर्ने योजना छ,” दाहालले भनिन् ।

विश्वका ठूला शहरमा पर्यटकलाई घुमाउनका लागि बनाइने पार्क जस्तै विभिन्न गतिविधि गर्न मिल्ने गरी उद्यान निर्माण गर्ने महानगरको लक्ष्य छ । सो ठाउँ जिल्ला वन अन्तर्गत पर्दछ । पहिलो चरणमा सो क्षेत्रको स्वामित्व ग्रहण गरी गुरुयोजना निर्माण गरेर काम अगाडि बढाउन लागिएको हो ।

भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित हाल विनियोजित बजेटबाट चार वनभोज स्थल, फुटपाथ निर्माण, वृक्षरोपण, बिपीको शालिकको मर्मत र रङरोगन, शालिक आसपास बगैँचा निर्माण, विद्युत्को व्यवस्था, शौचालय तथा पानीको व्यवस्था गरिँदैछ ।

सोही ठाउँमा बालबालिकाका लागि पार्क तथा सुरक्षाको व्यवस्थासमेत मिलाइँदै छ । सो क्षेत्रमा वन्यजन्तुबाट जोगिनका लागि विद्युतीय तारबारसमेत गर्ने योजना छ । सीमित ठाउँमा तारबार गरिन्छ भने अन्यत्र क्षेत्रमा जनावरका लागि उपयुक्त हुने गरी छाडिनेछ ।

नारायणीको भङ्गालोमाथि बनाइएको झोलुङ्गे पुल तरेर नगरवन जानुपर्ने हुन्छ । भङ्गालोको पानीमा जल क्रिडा गर्न मिल्ने गरी व्यवस्थापन गर्ने योजना बनाइएको पण्डितले बताए । झोलुङ्गे पुलको छेउमा आकर्षक रेष्टुरेण्ट सञ्चालन गर्ने योजना छ ।

यहाँ हाल एकसिङ्गे गैँडा, बाघ, मृग, चित्तल लगायतका जनावर र चराचुरुङ्गी देख्न पाइन्छ । नारायणी नदीको मूल प्रवाह र भङ्गालाको बीचमा नगरवन छ । नगरवन संरक्षण समितिका पूर्वअध्यक्ष वामदेव खनाल सो क्षेत्रमा २०१८ देखि जङ्गल बन्दै गएको बताउछन् । विसं २०३९ मा भरतपुर नगरका तत्कालीन प्रधानपञ्च मुक्तिलाल चुकेले बोटे हटाएर वृक्षरोपणको थालनी गरी पार्कका रुपमा विकास गरेका हुन् ।

यहाँ हरेक वर्ष बिपीको स्मृतिमा वृक्षरोपण गरिँदै आएको छ । वनको व्यवस्थापन भने खासै हुन सकेको थिएन । सो ठाउँमा चुकेकै पहलमा बिपीको शालिक निर्माण गरिएको हो । शालिकको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनावरण गरेका थिए । रासस

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार ००:००