११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण



पुस ८, तुलसीपुर । सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ ।

नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्दै उपमहानगरपालिकालाई ‘स्मार्ट हेल्थ सिटी’ को रुपमा रुपान्तरण गर्ने लक्ष्यसहित आफ्नै स्वास्थ्य नीति पहिलोपटक निर्माण गरेको स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

स्वास्थ्य नीतिअनुरुप उपमहानगरपालिकाले सबै नागरिकलाई वर्षमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्ने, स्माट हेल्थ कार्ड वितरण गर्ने, सुर्ती तथा सुर्तीजन्य पदार्थको बेचबिखन न्यूनीकरण गरी क्रमिक रुपले तुलसीपुर उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त नगर घोषणा गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य शाखाले नसर्ने रोगको नियन्त्रण गर्न व्यक्तिगत जीवनशैलीमा परिवर्तन गर्नलाई विद्यालयस्तरदेखि विशेष कार्यक्रम ल्याउने, मानसिक स्वास्थ्य समस्या रोकथाम गर्न हरेक स्वास्थ्य संस्थामा मनोविमर्श एकाइ स्थापना गर्ने नीति अगाडि सारेको डा दाहालले बताए ।

उपमहानगरपालिकाले १५ शैयाको अस्पताल स्थापना गरी उपमहानगरको स्वामित्वमा सञ्चालन गर्ने, यस क्षेत्रमा दर्ता नभई सञ्चालन भएका अस्पताललाई दर्ता उपमहानगरपालिकामा गराउने र सञ्चालनको अनुमति दिने नीति पनि अगाडि सारको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालन भएका एम्बुलेन्स दर्ता र जिपिएस प्रणालीमार्फत नियन्त्रण र निगरानीमा राख्ने बताएको छ । स्वास्थ्य नीतिअनुरुप आयुर्वेद लगायतका परम्परागत चिकित्साको विकाश गर्न नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै आयुर्वेद, जडीबुटी चिकित्साको हबको रुपमा उपमहानगरपालिकालाई विकाश गर्ने डा दाहालले बताए ।

त्यसैगरी आँखा अस्पतालसँग सहकार्य गरी उपमहानगरपालिकालाई तीन वर्षभित्र मोतिविन्दुरहित नगर घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढने नीति लिएको बताएको छ । प्रत्यक वडामा आँखा शिविर आयोजना गर्ने र वडामा रहेका आँखाका बिरामीलाई निःशुल्क सेवा दिने स्वास्थ्य शाखाले जनाएको छ ।

‘‘हामीले पहिलो पटक स्वास्थ्य ऐन निर्माण गरी स्वास्थ्य नीति ल्याएका छौँ, सोहीअनुरुप जनतालाई स्वास्थ्य सेवा दिने छौं’’ डा दाहालले भने । रासस

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार ००:००