१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवार मतदाताको घरघर धाउँदै



बनेपा, स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दल र साना दलसमेत मतदाताको घरघर धाउन थालेका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न उनीहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाइरहेका छन् । खानेपानी, सडक, फोहर व्यवस्थापन, पर्यटनप्रर्वद्धन लगायतका चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

स्थानीय निकायमा लामो सयमको रिक्ततापछि पहिलो पटक हुनलागेको स्थानीय तहको निर्वाचनमा खास गरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यसबाहेक बनेपा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरम लगायतका साना पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् ।

नेपाली कांग्रेसबाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका राम जोशीले बनेपाको सबै वडा कार्यालयको समस्या केलाएर घोषणापत्र तयार पारिएकाले सबै समस्याको समाधान हुने जिकिर गर्दै फोहर प्रशोधन, ढल निकास, खानेपानी, फोहर व्यवस्थापन लगायतका सबै मुद्दालाई घोषणापत्रमा उल्लेख गरेको बताए ।

एमाले काभ्रेपलाञ्चोकका प्रचार विभाग प्रमुख हरिशरण दाहालले २०४६ सालको आन्दोलनपछि कांग्रेसले स्थानीय तहमा नेतृत्व गरे पनि स्थानीय तहका समस्या समाधान गर्न नसकेको बताए । आफू निर्वाचनमा विजयी हुने दाबी गर्दै उनले फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

उनले भने– “हामीले बनेपा नगरलाई विकासमा अघि बढाउन ड्रिम प्रोजेक्ट नै निर्माण गरेका छौ ।”

नेकपा (माओवादी केन्द्र)बाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका भोला अर्यालले खानेपानी, सडक, शिक्षा पर्यटनलगायतका स्थानीय समस्या समाधान गर्न आफ्नो पार्टी सक्षम भएको उल्लेख गर्दै अहिले नेपाली राजनीतिको एजेन्डा नै माओवादीको भएको जिकिर गरे ।

उनले भने– “पुनःसंरचनापछि हामी पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएका छौं र हामी नयाँ अनुहार भएकाले हाम्रो योग्यता परीक्षण हुन जरुरी छ ।”

बनेपाका युवा मतदाता सगुन मानन्धरले राजनीतिक पार्टी भन्दा पनि सक्षम र योग्य व्यक्तिलाई स्थानीय तहको नेतृत्वमा ल्याउनुपर्ने तर्क गरे । तीस हजार ३७५ मतदाता संख्या रहेको बनेपा नगरपालिकामा १४ वडा छन् ।

यसअघिको यहाँ स्थानीय निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो । बनेपा नगरपालिका आसपासको साविकका गाविस रविओपी, उग्रतारा जनागाल, नालालगायतका क्षेत्र पुनःसंरचनापछि बनेपा नगरपालिका क्षेत्रभित्र परेका छन् ।

काठमाडौँबाट २६ किलोमिटरको दूरीमा रहेको बनेपा नगर नेपालबाट चीन जाने अरनिको राजमार्गको संगम स्थलका साथै व्यापारिक केन्द्र पनि हो । समुन्द्र सतहबाट करिब १ हजार ४३८ मिटर उचाइमा अवस्थित बनेपा नगरमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र आठ विभिन्न मन्दिर समेत रहेका छन् । नगरपालिकामा खासगरी नेवारी समुदायको बाहुल्यता रहेको छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००