१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने



 

मङ्सिर ९, बेझाड । कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका १ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।

युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले बताए । २११ मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको डबल लेनको पुल निर्माण हुने उनले जानकारी दिए ।

शनिबार पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देल र निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले सामूहिक रुपमा जग पूजा गरे । यहाँ पुल निर्माण भएपछि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र तनहुँको घिरिङ्ग गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ । प्रदेश नं ४ र ५ लाई जोड्ने यो पुलले कालीगण्डकीबेशीको विकासमा ठूलो टेवा पुग्नेछ ।
रासस

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार ००:००