६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह



 

विनोदसिंह विष्ट
मङ्सिर ५, बैतडी ।

जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् ।

सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई सुर्नया शिक्षकको नाम दिएर व्यवस्थापन गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।

“गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन यो अवधारणा ल्याएका हौँ,” उनले भने, “शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी शिक्षकको व्यवस्थापन गरेका हौँ ।”

सुर्नया गाउँपालिकाका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगी नियुक्त गरिएको छ । कक्षा १२ सम्म पढाउने शिक्षकलाई २५ हजार, कक्षा १० सम्म पढाउने शिक्षकलाई २० हजार, कक्षा ८ सम्म पढाउने शिक्षकलाई १५ हजार तथा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक १० हजार उपलब्ध गराएको छ ।

कार्यालय सहयोगीलाई आठ हजारका दरले तलब दिने गरिएकोछ । सो गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७५÷७६ मा ७० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै पाटन नगरपालिकाले नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि नगर स्वयंसेवक शिक्षकको अवधारणासहित एक करोड बजेट विनियोजन गरेको उपप्रमुख सरस्वती कोलीले बताइन् । कार्यविधि बनाएर नगरपालिकाभरि सामुदायिक विद्यालयको समस्या समाधानका लागि पहल गरिने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए ।

दशरथचन्द नगरपालिकामा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । शून्य दरबन्दी भएका विद्यालयमा शिक्षकको व्यवस्थापन तथा खेलकूद प्रशिक्षकका लागि चालु आर्थिक वर्षमा ५५ लाख बजेट विनियोजन गरिएको उनले बताइन् ।

मेलौली नगरपालिकाले निजी शिक्षकको तलबभत्ता दिने भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका सबै शिक्षकलाई नगरपालिकाले तलबभत्ता दिन एक करोड विनियोजन गरेको छ । नगरपालिकाका ४५ सामुदायिक विद्यालयका ८५ शिक्षकका लागि उक्त रकम विनियोजन गरिएको हो ।

कक्षा ५ सम्मका शिक्षकका लागि मासिक १० हजार, कक्षा ८ सम्मका शिक्षकका लागि ११ हजार, कक्षा १० सम्मका शिक्षकका लागि १४ हजार तथा कक्षा १२ सम्मका शिक्षकका लागि मासिक १५ हजार तलबको व्यवस्था गरिएको छ ।

निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयसँग आर्थिक स्रोत नभएकाले नगरपालिकाले तलबको व्यवस्था गरेको हो । नगरपालिकाले निजी स्रोतका शिक्षकलाई तलब दिने व्यवस्था गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने सुर्नयाको केदार मावि कठमडाका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए ।

उनले भने, “विद्यालयसँग आर्थिक स्रोत नहुँदा निजी स्रोतका शिक्षक आउनेजाने चलन रहेकामा अब त्यसो हुँदैन ।” निजी स्रोतका शिक्षकलाई तलब दिन अभिभावकले चन्दा उठाउनुपर्ने बाध्यता थियो ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००