१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोराही उपमहानगरपालिकाः फोहरबाट ग्यास निकालिने



 

मङ्सिर ४, तुलसीपुर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो ।

दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो । उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

२० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ । घोराही उपमहानगरपालिका १६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ ।

अब लगत्तै निर्माण प्रक्रिया थालिने र १४ महीनामापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ । घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने भएको छ ।

उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर सङ्कलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उत्पादनपश्चात् कूल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । तत्कालीन घोराही नगरपालिकाले करीब तीन वर्ष पहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो ।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार ००:००