१४ चैत्र २०८०, बुधबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द



 

मङ्सिर ४, म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ ।

बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नु पर्नेछ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहनेछ । बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ ।

“स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन ।

जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए ।

दुई वडाको सीमा विवाद समाधान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो ।

विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् ।

विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ ।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार ००:००