१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खलङ्गादेखि सल्लीबजार जोड्ने सडक ३ दशक बित्दासमेत बनेन



 

मङ्सिर ३, सल्यान । सदरमुकाम खलङ्गादेखि पश्चिमी क्षेत्र सल्लीबजार जोड्ने सडक निर्माण शुरु भएको ३० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४५ सालमा शिलान्यास गरेको सडक पूरा नहुँदा पश्चिमी क्षेत्रका बासिन्दाले जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । शारदा नगरपालिकाको दुलधारापोखरा देखि बालुवासङ्ग्रही सम्म ३२ किलोमिटर सडकको ट्र्याक खोलेर साना गाडी सञ्चालन गरिए पनि ढुक्कसँग यात्रा गर्ने अवस्था छैन ।

“साँघुरो सडकमा घुम्ती भएकाले साना गाडीलाई समेत मुस्किल पर्छ, गाडीमा चढ्दा धेरै ठाउँमा मुटुले ठाउँ छोड्छ,” स्थानीयवासी हरिहर कवरले भने । वनगाड कुपिण्डेको ज्यामिरे, कोटभिर लगायतका स्थानमा सडक बढी जोखिमयुक्त रहेको छ । सडकको स्तरोन्नति गर्ने जिम्मेवारी पाएको सन्तोषी निर्माण सेवाले काममा ढिलाइ गरेको स्थानीयवासीको गुनासो छ ।

सडकको ३२ किलोमिटरमध्ये १४ किलोमिटर सडक वटाशील र १८ किलोमिटर ग्राभेल गर्नका लागि दुई वर्षअघि सन्तोषी निर्माण सेवाले जिम्मा पाएको थियो । दुई वर्ष पूरा हुँदासमेत आधा काम पनि पूरा नभएको स्थानीयवासी दुर्गा विसीले बताए । समय सकिएको एक वर्ष पूरा हुन लाग्दासमेत काम सकिएको छैन् ।

कूल २४ करोड लागतमा निर्माण थालिएको उक्त सडकको अवस्था अत्यन्तै नाजुक छ । सडककै कारण केही समयअघि कुपिण्डेदह घुम्न आएका १३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

देशकै १०० पर्यटकीयस्थलमा परेको कुपिण्डे दह यही सडकखण्डको बीचमा पर्दछ । बर्षेनी हजारोै पर्यटक घुम्न यहाँ आउने गरेका छन् । सल्यान सदरमुकामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने यो मुख्य मार्गसमेत हो ।

काममा ढिलाइ भएको जनगुनासो बढ्न थालेपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । यस्तै सङ्घीय सांसद टेकबहादुर बस्नेतले समयमा काम नसके ठेकेदार कम्पनीलाई कारवाही गरिने चेतावनी दिएका छन् ।

सडक निर्माण गर्दा सडकमा रहेका ठूला चट्टान तथा उपकरण पु¥याउन गाह्रो भएकाले निर्माण कार्य ढिला भएको निर्माण सेवाका ठेकेदार उज्ज्वल कँडेलले प्रतिक्रिया दिए ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार ००:००