१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरिने



 

मङ्सिर २, बाँके । सर्वसाधारणको चाप बढी भएपछि नेपालगञ्जमा सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा चार वटा घुम्ती शौचालय ल्याएसंगै सार्वजनिक शौचालयको समस्या हट्ने देखिएको हो ।

यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइनसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । “अहिले नै कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना बनाइसकेका छैनौँ,” उनले भने, “भर्खरै मात्र खरीद गरेर ल्याएका छौँ, बैठकले केही दिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ ।”

उनका अनुसार सार्वजनिक शौचालय नभएका तथा मान्छेको भीड हुने क्षेत्रमा शौचालय राखिनेछ । आवश्यकतानुसार उपमहानगरपालिकाले थप शौचालय खरीद गर्ने बताइएको छ ।

सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुका लागि घुम्ती शौचालय प्रभावकारी हुने देखिएको छ । ट्र्याक्टरमा जडान गरेर घुम्ती शौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने छ । शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गारिक मल बनाएर प्रयोग गरिने जनाइएको छ ।
रासस

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार ००:००