६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट



 

मङ्सिर २, सोलुखुम्बु । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेका हुन् ।

योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका योजना पनि छनोट गरिएको छ ।

छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

यस्तै, माप्यदुधकोशी गाउँपालिका अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा १० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी थुलुङदुधकोशी गाउँपालिका अन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले जानकारी दिए ।

लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवर्धन योजनाका लागि १५ लाख, किबीखेती प्रवर्धनमा १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा १५ लाख, सोताङ गाउँपालिका अन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवर्धनका लागि ट्र्याकओपनमा १० लाख विनियोजन गरिएको छ ।

नेचासल्यान गाउँपालिका अन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिका अन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि १५ लाख रकम विनियोजन गरिएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले जानकारी दिए ।

त्यसैगरी महाकुलुङ गाउँपालिका अन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा १० लाख रकम विनियोजन गरिएको छ ।
रासस

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार ००:००