१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न जैविक मार्ग निर्माण



 

कात्तिक २७, कञ्चनपुर । चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माणमा तीव्रता दिएको छ । नगरपालिको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिइएको हो ।

सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य शुरु गरिएको छ । स्तरोन्नतिका लागि चालू आवमा ३० लाख बजेट विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष रौटेलादेखि ब्रह्मदेवसम्म १८–२२ मिटर चौडाइको झण्डै १५ किमी मार्गको बाटो खोलिएको छ । चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एकआपसमा जोडेको छ ।

“उत्तरी क्षेत्रका सडक पूर्वाधार विकास, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्यसहित जैविक मार्ग निर्माण गरिएको छ” भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने ।

नगर प्रमुख विष्टले जैविक मार्गको पूर्व–पश्चिमी दुवै भाग नगर चक्रपथसित जोडिने जानकारी दिए । यो मार्ग भएर पूर्णागिरिका दर्शनार्थीलाई रौटेला र बाराकुण्डामा ल्याउन खोजिएको छ । त्यसका लागि बाराकुण्डाका कुण्ड पुनःभरण गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा बाराकुण्डका एक दर्जन कुण्ड पुनःभरण गरी पर्यटकीय क्षेत्र बनाएको थियो । जैविक मार्गको प्रस्थान बिन्दु रौटेला र अन्तिम बिन्दु ब्रह्मदेवस्थित काली मन्दिरमा छ । काली मन्दिर भएर महाकाली करिडोरको निर्माण कार्य अघि बढाइएको छ । नगरपालिका वडा नं ७ का अध्यक्ष शङ्कर कुँवरले जैविक मार्गले चुरे क्षेत्रका बासिन्दा उत्साहित भएको बताए ।

जैविक मार्गको किनारमा हरित बगैँचासहितको वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिइएको छ । भीमदत्त नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले हरियालीसहितको जैविक मार्गले भीमदत्त नगरलाई समृद्ध बनाउने आशा लिइएको बताए ।

“जैविक मार्ग हेर्नकै लागि पर्यटक यहाँसम्म पुग्ने गर्दछन् । जसबाट यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटक आवागमनले स्थानीय बासिन्दाको आयस्तरमा समेत वृद्धि हुनेछ”, उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण दिएर विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तेस्रो नगरसभाबाट जैविक मार्गका लागि बजेट विनियोजन गरिएको छ ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००