७ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असहायका लागि न्यानो कपडा वितरण



 

कात्तिक १६, काठमाडौं । नवजीवन परोपकार समाजले कर्णाली प्रदेशका पाँच जिल्लाका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । समाजले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु जिल्लाका १५ अति विपन्न बस्ती पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो पपडा वितरण गरेको जनाएको छ ।

‘नेपालीले नेपालीका लागि सहयोग गरौँ’ भन्ने अभियानका साथ सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि काठमाडौंका सडक बालबालिका तथा विपन्न परिवारका करीब २०० बालबालिकालाई कपडा वितरण गरेपछि अभियान दुर्गम जिल्लामा पनि विस्तार गरेको संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

मुगु जिल्ला नागरिक समाज सञ्जालका संयोजक चित्रबहादुर मल्लले संस्थाले गरेको कार्यले यहाँका विपन्न परिवारका बालबालिकालाई जाडोको समयमा नयाँ जीवन मिलेको बताए । आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रम जिल्लाका अन्य बस्तीमा विस्तार गर्न आग्रह गरे ।

जुम्लाको सिँजाकी कक्षा ७ मा अध्यनरत १४ वर्षीया कल्पना विकले जाडोमा ज्याकेट लाउन पाउँदा साह्रै खुशी व्यक्त गरिन् । विदेशमा बस्ने नेपाली र काठमाडौंका व्यवसायीले उक्त कपडा उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष राधेश्याम खड्काले बताए ।

संस्थाले अघिल्लो वर्ष पनि जाडो याममा बारा, धादिङ र चितवन लगायत जिल्लामा करीब तीन हजार ५०० दलित चेपाङ, मुसहर, असाहय बालबालिका तथा विपन्न वर्गलाई न्यानो कपडा ज्याकेट, गलबन्दी, ब्ल्याङ्केट, टोपी, स्वीटर वितरण गरेको थियो ।

‘सबैका लागि न्यानो कपडा’ भन्ने अभियान बोकेर नवजीवन परोपकार समाजको ३२ जनाको टोली अघिल्लो साता कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुगेको थियो ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ००:००