२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दे गाउँपालिकामा ५ हजार मिटर सडक ग्राभेल



 

कात्तिक ६, दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा एक वर्षमा पाँच हजार ७२ मिटर सडक ग्राभेल भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा पाँच वटा वडामा सडक ग्राभेल गरेको हो ।

जसअनुसार वडा नम्बर २ मा ४२०, वडा नम्बर ३ मा दुई हजार ५८०, वडा नम्बर ४ मा १८०, वडा नम्बर ५ मा २३५ र वडा नम्बर ७ मा एक हजार ६५७ मिटर सडक ग्राभेल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए ।

सोही अवधिमा ३७ हजार ३२९ मिटर बाटो विस्तार भएको र १६ हजार ९९९ मिटर बाटो मर्मत भएको समेत उनले बताए । त्यस्तै २७५ मिटर सिँढी निर्माण, ७०९ मिटर पक्की नाली र १९ हजार ७७० मिटर कच्ची नाली निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाले सोही अवधिमा १८७ मिटर पक्की कुलो निर्माण गरेको छ । वडा नम्बर १ मा छ मिटर, वडा नम्बर २ मा २४ मिटर, वडा नम्बर ५ मा ६१ मिटर र वडा नम्बर ७ मा ९६ मिटर पक्की कुलो निर्माण भएको छ ।

साथै वडा नम्बर ३ मा ४९ मिटर, वडा नम्बर ६ मा ८४ मिटर र वडा नम्बर ७ मा १०० मिटर पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आमा समूहको सक्रियतामा भवन निर्माण

तनहुँको भानु नगरपालिका १३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ ।

नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालय लगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको ३ लाख, वडा कार्यालयको ३ लाख २५ हजार, वैदेशिक रोजगारीमा रहेका गाउँलेको १ लाख र सामुदायिक वनको ३ लाख खर्च भएको आमा समूहकी अध्यक्ष विष्णुमाया थापाले जानकारी दिइन् ।

उनका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि अझै सात लाख आवश्यक पर्ने देखिएको छ । गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागिसमेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो ।

तीस महिला आबद्ध रहेको समूहले महिला सशक्तीकरण, सीपमूलक तालीम, घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार ००:००