१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जाको भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा



कात्तिक ४, वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।

भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नगरपालिका १ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिएका हुन् ।

भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार भीमलाल कर्माचार्यले एक रोपनी छ आना, गोविन्दकुमार कर्माचार्यले एक रोपनी छ आना, फत्तबहादुर केसीले एक रोपनी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले एक एक आना जग्गा उपलब्ध गराएका हुन् ।

स्थानीयवासीले निःशुल्करुपमा उपलब्ध गराएको उक्त जग्गा चलनचल्तीअनुसार दुई करोडभन्दा बढी मूल्य पर्ने नगर प्रवक्ता केसीले बताए । “नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब हामी भवन निर्माणतर्फ अघि बढेका छौँ,” प्रवक्ता केसीले भने, “चार रोपनी क्षेत्रफलमा फैलने उक्त भवन अत्याधुनिक किसिमको ३२ कोठाको हुनेछ ।”

निर्माण थालिएको दुई वर्षमा सक्ने गरी कूल नौ करोड ७७ लाखको लागतमा ठेक्का सम्झौता भएकाे उक्त भवन निर्माण कार्यकाे थालनी भएको छ ।
रासस

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार ००:००