२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोराही उपमहानगरलाई बालमैत्री बनाउन गृहकार्य



 

असोज २४, घोराही । घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन गृहकार्य थालिएको छ । उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई सोमबार बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको छ ।

सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बाल संरक्षणका अभियान सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताए । बालबालिका समाजका महत्वपूर्ण अङ्ग भएकाले उनीहरुको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको उनको भनाइ थियो ।

बालमैत्री स्थानीय शासनका ३९ वटा सूचक पूरा गरी वडालाई बालमैत्री घोषणा गर्नसकिने बारे वडाध्यक्षसँग छलफल भएको नगरप्रमुख चौधरीले बताए । बालमैत्री प्रशिक्षक दुर्गालाल केसीले बालअधिकार, बालमैत्री स्थानीय शासन र बालमैत्री स्थानीय तह घोषणाका प्रक्रियाबारे वडाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

वडाध्यक्षले पनि बालमैत्री वडा घोषणाका लागि आवश्यक पहल कदमी गर्ने बताएका थिए । सबै वडाका बस्ती र विद्यालयमा तत्काल बाल क्लब गठन गरी बालमैत्री अभियान सञ्चालन गर्न सबै वडाध्यक्ष तयार भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा वडाको काम कर्तव्यमा बालमैत्री वडा घोषणा गर्ने कुरा पनि समेटिएकाले सोहीअनुसार काम गर्न सबै प्रतिबद्ध भएका हुन् ।

घोराहीका ५, ६ र ७ नं वडा अर्थात् साविकका धर्ना र सौंडियार गाविस यसअघि नै बालमैत्री घोषणा भइसकेका छन् । बाँकी १६ वडालाई बालमैत्री बनाउन सबै वडाध्यक्ष र सदस्य गम्भीर हुनुपर्ने उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् ।

बालबालिकासम्बन्धी नीति र कार्यक्रम बनाउने पहिलो दायित्व जनप्रतिनिधिको भएकाले सबै वडाध्यक्ष र सदस्य बालमैत्री अभियानमा अग्रसर हुनुपर्ने उनले बताइन् । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार जस्ता गलत प्रवृत्ति हटाउने कार्यक्रम तय गरेर वडा वडामा अभियान चलाउन जरुरी रहेको बताइएको छ ।

घोराहीमा मुख्य समस्याका रुपमा रहेको बालश्रम न्यूनीकरण गर्न युनिसेफ नेपालको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान नेपालमार्फत बाल संरक्षण कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताइन् ।

बालश्रमिकको पहिचान गरी उनीहरुको अवस्था विश्लेषण गरेर उद्धार, पुनःस्थापना र शिक्षामा सहयोगजस्ता कार्यक्रम तय भएको उनले जानकारी दिइन् । उपमहानगरले बाल क्लबलाई परिचालन गरी बालमैत्री अभियानलाई प्रभावकारी बनाउने योजना अगाडि सारेको छ ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार ००:००