४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरलाई ‘पर्यटन हव’ बनाउने प्रतिबद्धता



रत्ननगर (चितवन), चितवनको रत्ननगर नगरपालिकालाई ‘पर्यटन हव’को रुपमा विकास गर्ने यहाँका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास भएको सौराहा समेत रत्ननगरमा जोडिएकाले उनीहरुले समग्र रत्ननगरलाई नै जोडेर पर्यटकीय क्षेत्र बनाइने उल्लेख गरेका हुन् ।

रत्ननगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएर चुनावी प्रचारमा लागेका उनीहरुले नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपममा चिनिदै आएको रतननगरको सौराहालाई दोस्रो पर्यटन क्षेत्र बनाउँन विकासका पूर्वाधार निर्माण गर्ने अठोट मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख उम्मेदवारले बताएका हुन् ।

रत्ननगरको प्रमुखका लागि कांग्रेसबाट नगर सभापति रुपनराज घिमिरे, एमालेबाट नारायण वन र माओवादी केन्द्र बाट पूर्णबहादुर अम्गाईंले उम्मेदवारी दिएका छन् ।

बुधवार गाउँमा चुनावी घरदैलोमा रहेका कांग्रेस रत्ननगर प्रमुखका उम्मेदवार रुपनराज घिमिरेले सौराहालाई तेस्रो पर्यटन गन्तव्यबाट दोस्रोमा स्तरोन्नती गर्ने कुरा घोषणापत्रमा समावेश गरिएको बताए ।

“पर्यटन विकासका लागि भरतपुर– पोखरा हवाइ उडानको व्यवस्था हुनुपर्छ, यसमा हामी लाग्ने छौं,” घिमिरेले भने, “रत्ननगरको समग्र विकासका लागि राष्ट्रिय रणनीति बनाउने योजना छ । ”

नेकपा एमालेबाट नगरप्रमुखको उम्मेदरवार बनेका नारायण वनले रत्ननगरलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउने योजना रहेको जानकारी दिए । सौराहालाई दोस्रो पर्यटकीय गन्तव्य बनाउने लक्ष्य आफूले लिएको बताउँदै यसका लागि आवश्यक पूर्वाधारमा जोड दिने वनले उल्लेख गरे ।

उनका अनुसार वन्यजन्तु र मानवद्वन्द्व व्यवस्थापन, भएका स्रोत साधनको भरपुर उपयोग गर्दै पूर्वाधार निर्माण, रत्ननगर अस्पतालको स्तरोन्नति, प्रविधिको प्रयोग, रङ्गशाला तथा सिटी हल निर्माण, फोहर तथा सुकुम्वासी समस्या समाधान, ग्रिनरी लगायतको काममा ध्यान दिइने छ ।

माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर अम्गाईं ‘सुवोध’ले पर्यटन हवको रुपमा समग्र रत्ननगरलाई नै विकास गरिने योजना घोषणापत्रमा उल्लेख गरिएको बताए । घरदैलोकै क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै अम्गाईंले भने, “पर्यटन पूर्वाधार विकाससंगै, आवास व्यवस्थापन, समृद्ध सहर, बसपार्क, उद्यान, रङ्गशाला बनाउने योजना छ ।’

शैक्षिक परियोजना, अस्पतालको स्तरोन्नति, युवालाई सहुलियतमा ऋण, गरिब र बेरोजगारका लागि सीपमूलक तालिमको व्यवस्था गर्दै विज्ञ र नगरवासीको सहयोगमा वैज्ञानिक भू– उपयोग परियोजना ल्याउने अम्गाईंले बताए ।

नेपालकै मुख्य पर्यटन क्षेत्र सौराहा चितवनमा आएका पर्यटकमध्ये अधिकांशको आकर्षक गन्तव्य हो । चितवन निकुञ्ज घुम्ने पर्यटक ८० प्रतिशत पर्यटक रत्ननगर हुँदै जाने गरेका छन् ।

रत्ननगरमा प्रमुखका लागि १२ जनाको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् । मुख्य तीन ठूला दलसहित यहाँ राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, नेकपा माले, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति नेपाल, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट उम्मेदवारी परेको छ । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००