असोज १६, सुर्खेत । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले स्पष्ट कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकमा सांसदले पहिलो चौमासिक बित्नै लाग्दासमेत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै परिणाममुखी कार्ययोजना बनाउन आग्रह गरे ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवसहित सात वटै मन्त्रालयका सचिवको सहभागिता थियो । समितिको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको हालसम्मको अवस्था, आ–आफ्ना मन्त्रालयका कार्ययोजनासहित उपस्थित हुन सचिवहरुलाई निर्देशन दिएको थियो । बैठकमा सचिवहरुले वार्षिक कार्यक्रमका साथै हालसम्मको कार्य प्रगति प्रस्तुत गरेका थिए ।
नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले पहिलो चौमासिक सकिन लाग्दासमेत बजेट खर्च गर्ने कार्ययोजना किन बनाउन सक्नुभएन रु भनी प्रश्न गरे । “संरचना छैन्, जनशक्ति छैन भनेर अल्झिन पाइँदैन” उनले भने, “तीनै समस्याका बीच पनि बजेट गाउँ–गाउँमा पु¥याउने उपाय के हुनसक्छन्, मन्त्रालयस्तरबाट गहन अध्ययन गर्नुस् ।”
कर्णाली प्रदेश सरकारले गत असार १ गते २८ अर्ब २८ करोड २८ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो । कांग्रेस प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश सरकार बजेट कार्यान्वयनका सवालमा गम्भीर नभएको आरोप लगाउँदै भने, “गाउँ जाँदा जनताले सोधेर हैरान गर्न थाले, सरकारका मन्त्री र सचिवहरुमा यसतर्फ कुनै तत्परता देखिएन ।”
अर्का सदस्य दानसिं परियारले डिभिजन कार्यालय स्थापना गर्ने निहुँमा प्रदेश सरकारले हचुवाका भरमा कतिपय महत्वपूर्ण जिल्लास्तरीय संरचनाहरु हटाउन थालिएको भन्दै आपत्ति जनाए ।
समितिका अध्यक्ष अम्मरबहादुर थापाले जागिरे मानसिकताबाट माथि उठेर कर्णालीको विकासका लागि अझ बढी जिम्मेवार हुन सचिवहरुलाई आग्रह गरे । बैठकले सचिवहरुलाई तत्काल आ–आफ्नो मन्त्रालयको बजेट खर्च गर्ने कार्यविधि बनाउन निर्देशन दिएको छ ।
रासस


प्रतिक्रिया