असोज ४, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।
सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिए ।
सांसद खिमकुमार विकले स्वीस बैंकमा नेपालको अकूत सम्पत्ति (उक्त बैंैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२.८८ मिलियन स्वी फ्रेन्च भएको) रहेको पाइएकाले ठूलो मात्राको धनको खोजबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।
रासस




प्रतिक्रिया