सन्तोष गौतम
असोज ३, म्याग्दी ।
बेनी नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन विभागको प्राविधिक सहयोगमा नगर क्षेत्रको एकीकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो ।
योजना तयार पार्न मङ्गलबार भएको कार्यक्रमपछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकीकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । इञ्जिनीयर विमलरञ्जन कार्की सदस्यसचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसाल लगायत दशवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन् ।
योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवन लगायत पूर्वाधारको अवस्था र आवश्यकता समावेश गरिनेछ । नगरपालिकाका दश वडालाई चार समूहमा विभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडास्तरबाट सुझाव सङ्कलन गरिने नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए । योजना निर्माणपछि नगरक्षेत्रमा पूर्वाधार विकासलाई दिगो, व्यवस्थित र दीर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।
सिकाइ उपलब्धिमा सुधार
कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएपछि म्याग्दीको उत्तरी क्षेत्रका विद्यालयको सिकाइ उपलब्धिमा सुधार आएको छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान, राम्चे, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी र दोवाका ३६ सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् ।
आधारभूत तहका कक्षा कोठाका भित्ता, झ्याल, बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्य लेखेर झुण्ड्याइएको छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई गीत, नृत्य र खेल खेलाएर रमाइलो वातावरणमा पढाउने गरिएको छ । साना बालबालिकाको पढाइप्रति रुचि बढेर सिकाइमा सुधार भएको हिमाञ्चल मावि नाङ्गिका प्रअ रमन पुनले बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार विसं २०६९ देखि बालमैत्री शिक्षण विधि लागू भएका विद्यालयको सिकाइ उपलब्धिमा पाँचदेखि १४ प्रतिशत वृद्धि भएको छ । शैक्षिकसत्र २०६९ मा आधारभूत तहको सरदर सिकाइ उपलब्धि ५२.८३ प्रतिशत भएको छ । मुक्तिमार्ग मावि घारअन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि २०७४ मा ६५.६ प्रतिशत पुगेको छ ।
आदर्श मावि रिमा स्रोत केन्द्रअन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि ५६.८८ प्रतिशतबाट बढेर ७०.४८ प्रतिशत भएको छ । यसैगरी २०७२ मा ५७.७ प्रतिशत सरदर सिकाइ उपलब्धि भएका सर्वोदय मावि भुरुङ तातोपानी अन्तर्गतका विद्यालयको सरदर सिकाइ उपलब्धि विसं २०७४ सम्ममा चार प्रतिशतले बढेर ६१.१८ प्रतिशत पुगेको छ ।
एकाइका प्रमुख दलबहादुर थापाले शैक्षिक सामग्री निर्माण र प्रयोग गरेर गरिएको शिक्षण विधि प्रभावकारी देखिएको बताउँदै अन्य विद्यालयमा पनि विस्तारको तयारी भएको जानकारी दिए । शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुने गर्छ ।
शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्र्दभअनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गर्छन् । शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको आदर्श मावि रिमाका स्रोतव्यक्ति भरत पुनले बताए । “विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाएका छन्”, स्रोतव्यक्ति पुनले भने ।
परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाइ उपलब्धि सुधारका लागि प्रभावकारी देखिएपछि शैक्षिकसत्र २०७५ देखि रघुगङ्गा गाउँपालिकाको अमर मावि स्रोतकेन्द्रका १८ विद्यालयमा विस्तार गरिएको छ । कार्यक्रम लागू भएका ५४ विद्यालयमा दुई हजार ९६१ विद्यार्थी छन् भने ७० विद्यालयमा कार्यक्रम विस्तार गर्ने संस्थाको योजना छ ।
श्रमदान अभियान
एक हप्ताअघि कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन पक्की पर्खाल बगाएपछि कटानको उच्च जोखिममा परेको बेनीबजार संरक्षणका लागि श्रमदान अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको अगुवाइमा कालीगण्डकीले कटान गरेको ठाउँमा तटबन्ध निर्माणका लागि श्रमदान अभियान सञ्चालन गरिएको हो । थप कटान हुन नदिन बजारवासीलाई श्रमदानमा सहभागी गराइएको बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।
बेनीबजार संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समितिले तटबन्धका लागि ९५ थान तारजाली उपलब्ध गराएको छ । तटबन्ध निर्माण गर्न बजारवासीका साथै नेपाली सेना र प्रहरीले पनि सहयोग गरेका छन् । संविधान दिवसको अवसरमा मङ्गलबार कर्मचारी र विद्यार्थीले पनि ढुङ्गा ढुवानी र तारजाली भर्ने कामका लागि श्रमदान गरेका छन् ।
निर्माणाधीन अवस्थामा रहेको करीब १५० मिटरभन्दा बढी पक्की पर्खाल बगाउँदा चार करोड बराबरको क्षति पुग्नुका साथै जिल्ला सदरमुकाम बेनीबजार कटानको जोखिममा परेको छ । कमसल निर्माण सामग्रीको प्रयोग, गलत डिजाइन र ढिलासुस्तीका कारण निर्माणाधीन पर्खाल भत्किएकाले छानबिन गर्नुपर्ने बजारवासीको माग रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
तत्कालीन जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङमार्फत सञ्चालित बेनीबजार संरक्षण योजनाअन्र्तगत कालीगण्डकी किनारमा ३८० मिटर पक्की पर्खाल निर्माण गर्न खड्काकृष्ण जेभीले पाँच करोड आठ लाख ३२ हजारमा ठेक्का सम्झौता गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले निर्माणाधीन पर्खाल भत्किनुको कारण पत्ता लगाउन सिँचाइ विकास तथा जलाधार संरक्षण कार्यालयलाई अध्ययनको निर्देशन दिएको छ । थप क्षति हुन नदिन आवश्यक संरक्षणको काम शुरु गरेको बेनी नगरपालिकाले दीर्घकालीन योजनाका लागि पहल गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
रासस




प्रतिक्रिया