नवलपरासी, नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरण आठ वटामा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।
१५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठ वटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन् । जसमध्ये चार नगरपालिका र चार गाउँपालिकामा निर्वाचन हुनेछन् ।
पहिलो चरण नगरपालिकातर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछ भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी रहेका छन् ।
नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र नं. १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुने छ । निर्वाचन क्षेत्र नं. ४ ५ र ६ भने प्रदेश नं ५ मा पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन हुनेछ ।
क्षेत्र नं. १, २ र ३ मा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं. ४ ५ र ६ मा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिन्छ । नवलपरासीका ७ नगरपालिका र ८ गाउँपालिका बाट ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।
नवलपरासीमा आगामी स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिए ।
नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस
प्रतिक्रिया