साउन ३०, दाङ । तुलसीपुर बजारमा छाडा चौयाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुने गरेको छ । बजार मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै सवारी आवागमनमा समेत समस्या भएको छ ।
तुलसीपुर बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु रहेका छन् । तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताइन् । उनले भनिन्, “पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन् आफू व्यस्त हुन्छु गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ । उनले भनिन्, “चौपाया लखेट्दै हैरानी व्यहोर्नुे परेको छ ।”
छाडा चौपायाले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताततै बस्ने भएका कारण आवातजावत गर्ने सवारीसाधन देखि सर्वसाधारणलाई समेत समस्या हुने गरेको तुलसीपुर निवासी नीरा ढुङ्गानाले बताइन् । उनले भनिन्, “दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति बढेका कारण आफूहरुले समस्या खेप्नुपरेको छ ।”
तुलसीपुर निवासी खुमानन्द अधिकारीले छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कुनै चासो नदिएको गुनासो गरे । उनले भने, “अहिले तुलसीपुर बजार क्षेत्रमा मात्र १०० को हाराहरीमा छाडा चौपाया रहेको र तीनले निकै सास्ती दिएका छन् ।” तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख माया आचार्यले छाडा चौपायाले नागरिकलाई सास्ती दिएको स्वीकार गर्दै अब छिट्टै व्यस्थापन गर्ने बताइन् ।
उनले सो व्यवस्थापनका लागि वडा नं १० का वडाध्यक्ष कुमार लामिछानेको संयोजक रहेको एक समिति गठन गरिसकेको बताइन् । उनले सो समितिले तुलसीपुर उपमहानगरपालिका–१२ को शीतलपुरमा गौशाला निर्माण गर्ने उपयुक्त रहेको स्थान छनोटसमेत गरिसकेकाले अब छिट्टै नै त्यहाँ गौशाला निर्माण गरी छाडा चौपायालाई व्यवस्थापन गरिने छ ।
रासस




प्रतिक्रिया