८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव सरेपछि निर्वाचन गतिविधि सुस्त



बैतडी, सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसंगै बैतडी लगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ ।

प्रदेश नं। १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं। प्रदेशमा वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे संगै वैशाख ३१ को प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । “गाउँ सहर निर्वाचनमय भइसकेको थियो”, उनले भने, “जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।”

जेठ ३१ मा निर्वाचन हुने भएपछि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताए । “वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ”, उनले भने, “दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।”

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेद्वार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेद्वार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए ।

राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुंगो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताए ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताए ।

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको नेकपा एमाले र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताए । आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशंका जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताए ।

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटको भनाइ छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००