४ चैत्र २०८०, आइतबार | Sun Mar 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय प्रविधी र सीपको प्रर्वद्धनमा जोड



 

गाउँपालिका र नगरपालिकाहरूलाई स्थानीय प्रविधी र सीपलाई प्रर्वद्धन गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र प्राकृतिक अनुसन्धान तथा संरक्षण नेपाल (रेकोन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले स्थानीय प्रविधि र सीप उपयोग गर्न जोड दिएका हुन् ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्थानीय तहहरूले स्थानीय सीप र प्रविधिको उपयोगलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । साथै उर्जाका लागी अत्याधिक खर्च भइरहेको पनि उनले जानकारी दिए ।

“१३० अर्ब रुपैयाँ पट्रोलियम पदार्थका लागी खर्च भइरहेको छ । यस बर्ष १८ अर्ब रुपैयाँ विद्युतका लागी खर्च गरिरहेका छौ,” धितालले भने, “मुलुकले बेहोरिरहेको समग्र व्यपार घाटामा उर्जाको हिस्सा करिब ९० प्रतिशत छ । स्थानीय सीप र प्रविधिबाट बैकल्पिक उर्जालाई उपयोग गरे मुलुकको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन सकिन्छ ।”  धितालका अनुसार एक बर्षको ३६५ दिनमध्ये करिब ३ सय दिन सोलार उर्जाले काम गर्न सक्छ ।

“कृषीमा दुई तिहाई नागरिक संलग्न छन् । तर परिणाम ठीक उल्टो एक तिहाई छ,” धितालले भने, “स्थानीय सीप र प्रविधिलाई उपयोग गरे कृषी क्षेत्रको परिणामलाई पनि सुर्धान सकिन्छ ।”

रेकोन नेपालका अध्यक्ष गुणराज ढकालले अधिकार र जिम्मेवारी स्थानीय तहमा पुगेको हुँदा अब स्थानीय सीप, प्रविधिलाई उपयोग गर्न गाउँपालिा र नगरपालिकाहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।

“विदेशी दातृ निकाय, संघ वा प्रदेशले गरि देला भनेर आश गर्न हुँदैन,” ढकालले भने, “अरूले गरेको कामको अपनत्व हुँदैन । स्थानीय तह आफैं अग्रसर हुनुपर्ने बेला आएको छ ।”

यसगरि प्राध्यापक रामेश्वर अधिकारीले पानी, खानी, कृषी, वन र युवा राष्ट्रको अमूल्य सम्पति भएको बताए । ग्रामिण प्रविधि सीपलाई यी सम्पतिहरूसँग जोड्न आवश्यक रहेको अधिकारीले बताए ।

३ नं. प्रदेशका गाउँपालिकाका प्रमुख/उपप्रमुख सहित ग्रामिण प्रविधीका क्षेत्रमा क्रियाशील व्यक्तिहरू सहभागी कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले आफूहरू प्रविधीको उपयोगितामार्फत सेवाप्रवाहलाई छिटो छरितो बनाउन आतुर रहेको बताए ।

“सिमिति स्रोत साधनका बाबजुद पनि हामी स्थानीय प्रविधिलाई उपयोग गरि जनतालाई प्रदान गरिने सेवालाई छिटो र छरितो गर्न हामी अग्रसर छौं,” श्रेष्ठले भने, “तर संघीय सरकारले गाउँपालिकाहरूलाई दिँदै आएको बजेट घटाएको छ । यसप्रति म सरकारको ध्यानर्कषण गराउँछु ।”

यसैगरि गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङले पनि आफूहरू स्थानीय प्रविधिलाई उपयोग गर्न अग्रसर रहेको बताए ।

स्थानीय तहको रणनीतिक आयोजनालाई बजेट न्यून विनियोजन भएको उहाँले जानकारी दिए । “मेरो गाउँपालिकामा १० करोड रुपैयाँको आयोजना २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरि सुरू भएको छ । तर सरकारले बजेट २ करोड रुपैयाँमात्र विनियोजन गरेको छ,” तामाङले भने, “संघीय सरकारले बजेट विनियोजन गरेको देख्दा निर्माण सम्पन्न हुन १० बर्ष लाग्ने देखियो । लागत बढ्ने त छँदैछ ।”

यसै गरि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले स्थानीय तह आफैंले पनि आन्तरिक आय संकलन गर्नु पर्नेमा जोड दिए ।

“स्थानीय सीप र प्रविधिलाई स्थानीयस्तरबाटै पनि उपयोग गर्न सकिन्छ । स्थानीय तहले मागेर मात्रै खर्च धान्ने परिपाटीको अन्त्य हुनुपर्छ,” कँडेलले भने, “माग्नेहरूसँग पैसा र सम्पति हुन सक्छ । तर माग्नेबाट स्तर माथी उठ्दैन ।”

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ००:००