साउन १८, नुवाकोट । चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको छ । पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नगरपालिका–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
सडक गत मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध भएको थियो । पहिरोको कारण रसुवा र राजधानी काठमाडौं बीचको सडकयात्रा रोकिँदा सयौँ यात्रुले सास्ती झेल्नु परेको थियो ।
सडक खुलेपछि पहिरोको कारण रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेसी सडकको मनकामनामा पहिरोका कारण सडक अवरुद्ध भएकाले कारण वैकल्पिक सडकसमेत सञ्चालन नहुँदा सयौँ सवारीसाधन नुवाकोटमा रोकिएको थियो ।
राजधानी जाने क्रममा चार दिनदेखि पहिरोको कारण नुवाकोटमा रोकिएका रसुवा कांग्रेसका नेता लामाकार्पु तामाङले त्रिदेशीय राजमार्ग भएकाले यस्ता पहिरोको सम्भावित जोखिमस्थलहरुलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने र पहिरो गएमा तत्काल हटाउनुपर्ने विचार व्यक्त गरे ।
तिरतिरेको पहिरोका कारण विदुर नगरपालिका–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन पहिरोलाई दीर्घकालीन रुपमा रोक्ने उपाय वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।
रासस




प्रतिक्रिया