१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको सङ्कल्पः सबै स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाइने



काठमाण्डौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधा युक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।


स्थानीय तहको निर्वाचनका लागि बुधबार जारी गरिएको संकल्पपत्रमा प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकास गराउने उल्लेख छ । उक्त कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता विश्वबन्धु थापा र पशुपति शम्शेर राणाले संयुक्त रुपमा सो संकल्पपत्रको सार्वजनिक गरेका हुन् ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिई चुनाव जितेको गाउँ वा नगरपलिकालार्इ ‘नमुना स्थानीय तह’का रुपमा स्थापित र सञ्चालन गरिने उल्लेख छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आदर्श, मान्यता र योगदानको सम्मान गरिने गरी संकल्पपत्र जारी गरिएको छ । पार्टीले जितेका गाउँ वा नगरपालिका अन्तर्गतका प्रत्येक कार्यालयमा राष्ट्रनिर्माताको तस्बिर अनिवार्य रुपमा राखिने छ ।

गाउँ वा नगरपालिका भित्रका विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने ,स्थानीय तहमा गौहत्यालाई पूर्णतः निषेध गरी त्यस्तो अपराधमा संलग्नलाई कडा कारबाही गरिने र गौरक्षाको लागि प्रत्येक गाउँ वा नगरपालिकामा गौशाला निर्माण गरिने उल्लेख गरिएको छ ।

कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने संकल्पपत्रमा उल्लेख छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजानिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा देखिएका भिन्नतालाई सम्बोधन गर्न पाठ्यसामग्रीमा आवश्यक परिमार्जन गरी एकरूपता कायम गरिने छ ।

प्रत्येक गाउँ वा नगरपालिकामा कम्तीमा २५ शैयाको अस्पताल निर्माण गरिने छ । अनुदानप्राप्त अस्पतालमा प्राथमिक स्वास्थ निःशुल्क हुनेछ । प्रत्येक गाउँ वा नगरपालिकाहरुमा स्वास्थ्य उपचार कोष खडा गरिने छ ।

विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ रु पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गरिनेछ । न्यून आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन गरिने राप्रपाको संकल्पपत्रमा उल्लेख छ ।

गरिबी निवारण र रोजगारी संवर्द्धन तथा कृषि, उद्योग तथा वाणिज्य क्षेत्रको विकास गरिने छ । गाउँ वा नगरपालिकाभित्र २५  भन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने छ । कृषि क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणका लागि प्रत्येक गाउँ नगरपालिकाको विशिष्ठताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वन गरिने छ ।

सुशासन र भ्रष्टाचारमुक्त प्रशासन

गाउँ नगरपालिकामा भ्रष्टाचार मुक्त प्रशासन कायम गरी नगरपालिका र गाउँपालिकालाई ‘विकास र प्रगतिको केन्द्र’ बनाइने छ । यस प्रयोजनका लागि आवश्यक संरचनागत व्यवस्था र कानुनी आधार तयार गरिने छ ।

महिला सशक्तीकरण, महिला साक्षरता अभियान सञ्चालन गरिने छ । वैदेशिक रोजगारीमा गएका महिलाको अभिलेख राखी उनीहरुको स्थितिका बारेमा जानकारी राखिने छ । समस्या परेको अवस्थामा आवश्यक सहयोग गरिने छ ।

आदिवासी, जनजाति, दलित, अपाङ्ग, मुस्लिम समुदाय तथा दुर्गम क्षेत्रको उत्थान कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक एवम् राजनीतिक दृष्टिकोणबाट पछाडि परेका आदिवासी, जनजाति, अल्पसंख्क तथा मुस्लिम समुदायको हित, उत्थान र अधिकारको संरक्षण र संवर्द्धनका निमित्त विशेष कार्ययोजना कार्यान्वयन गरिने छ ।

सो अवसरमा वरिष्ठ नेता राणाले पार्टीको सिद्धान्त प्रजातन्त्र, शान्ति र आर्थिक उदारवाद भएको बताउँदै त्यसको माध्यमबाट मुलुकमा सामाजिक परिवर्तन गर्न सकिने बताए ।  रासस

प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार ००:००