३ साउन, सुर्खेत । भेरी नगरपालिकाका सुर्खेतका वडाध्यक्षहरु निरङ्कुश शैलीमा नगरसभाको सार्वभौम अधिकार खोसिएको भन्दै विरोधमा उत्रेका छन् ।
गएको असार ३२ गते सम्पन्न गरिएको भेरीगंगा नगरपालिकाको तेस्रो नगरसभाको विषयलाई लिएर १, ५, ११ र १३ वडाका वडाध्यक्षहरु नवराजकार्की, प्रेम सारु मगर, तिलक डाँगी, टीकाराम सुवेदीलगायत २८ जना जनप्रतिनिधि विरोधमा उत्रेका हुन् । उनीहरुले बुधबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत भेरीगंगाको तेस्रो नगरसभा भएको जनाउँदै अर्को वैधानिक सभा हुनुपर्ने माग राखेका छन् ।
वडा नं १३ का वडाध्यक्ष टीकाराम सुवेदीले नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले बहुमतको दम्भ देखाई विधि प्रक्रिया मिचेर एकलौटी ढंगले सभा सम्पन्न गर्न खोजेकाले आफूहरु विरोध उत्रन बाध्य भएको बताए । आफू खुशी वितरण गरिने योजनाका कारण समानुपातिक विकासमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको खबरदारीका निम्ति विरोधमा लागेको उनले बताए ।
अर्का वडाध्यक्ष नवराज कार्कीले गाउँ बस्तीस्तरबाट आएका योजनालाई बजेटमा समावेश नगरिएको दुखेसो गरे । लोकतान्त्रिक मान्यताको मानमर्दन गरी सम्पन्न भएको सभा अमान्य भएको र तत्काल अर्को सभा नगरिए कार्यक्रमसहित कडा रुपमा संघर्षमा उत्रने चेतावनी पनि उनले दिए ।
वडाध्यक्ष प्रेम सारुमगरले प्रमुख तथा उपप्रमुखले कुन ठाउँमा कति खर्च भयो भन्ने कुरा सार्वजनिक नगरेको, आफू निकटका सहकारी तथा उपभोक्ताहरुलाई योजना मनोमानी तरीकाले दिएको आरोप लगाए । उनका अनुसार सबै जनतालाई न्याय हुने तवरबाट बजेट विनियोजन हुनुपर्ने माग राखिएको छ । नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले प्राथमिकीकरणमा केही तलमाथि भए पनि समन्यायिक ढंगले बजेट विनियोजन भएको बताए ।
नगर प्रमुख चन्दले भने, “सहमतिका लागि धेरै प्रयास गर्दा पनि उहाँहरुले संघ र प्रदेशमा आफ्नो सरकार छ भन्ने दम्भ देखाउनुभयो ।” प्रमुख चन्दले कार्यपालिकाको बैठकबाट केही व्यावहारिक कुरा बुझ्ने काम भए पनि पुनः अर्को नगरसभा नहुने संकेत दिए ।
रासस





प्रतिक्रिया