७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन गतिविधि तिब्र



काठमण्डाैं, स्थानीय तहको निर्वाचन आउन १९ दिन बाँकी छँदा उम्मेदवार छनोट, प्रचारप्रसार, निर्वाचन अधिकृतको व्यवस्था जस्ता कामले गाउँ र नगरको चहलपहल तीव्र हुन थालेको छ ।

माओवादीद्वारा उम्मेदवार सिफारिस

दार्चुला– नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला कमिटीले यहाँका दुई नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखको नामावली प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

उक्त दलका इन्चार्ज मानबहादुर धामीले प्रदेश नं ७ को कमिटीलाई दार्चुलाबाट उम्मेदवारको नामावली सिफारिस गरेको जानकारी दिए । उनका अनुसार शैल्यशिखर नगरपालिकाको प्रमुखमा मोहनदेव विष्ट र उपप्रमुखमा लक्ष्मी लुहारको नाम सिफारिस गरिएको छ । सिफारिस भएका विष्टले केही समयअघि क्याम्पस प्रमुखबाट राजीनामा दिएका थिए ।

महाकाली नगरपालिकाको प्रमुखमा खडकसिंह धामीको नाम सिफारिस गरिएको तर उपप्रमुखको सिफारिस गर्न बाँकी रहेको उनले बताए ।

निर्वाचनका लागि कर्मचारी अपुग

रसुवा– स्थानीय तहको निर्वाचनका लागि मापदण्ड बमोजिम कर्मचारी अपुग हुनेभएको छ । मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गत ३ वैशाख बाटै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएपनि निर्वाचन सम्बन्धी कामका लागि मापदण्ड अनुसारका कर्मचारी नपुग हुने देखिएको हो ।

जिल्लाका पाँचवटा गाउँपालिकामा रहने निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्न, उत्तरगया गाउँपालिकामा विनिता भट्टराई, पार्वतीकुण्डमा विश्ववन्धु पौडेल, नौकुण्डमा अशोकराज रेग्मी, कालिका गाउँपालिकामा सन्तोषकुमार गिरी निर्वाचन अधिकृतका रुपमा आ–आफ्नो कार्यक्षेत्रमा खटिसकेको र गोसाइँकुण्ड गाउँपालिकाको हकमा धुन्चेस्थित मुख्य निर्वाचन अधिकृतको मातहतबाट कार्यसम्पादन गरिने सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

रसुवामा ३४ स्थानमा ४२ मतदान केन्द्रबाट २७ हजार ७५६ मतदाताका लागि २५० भन्दा बढी कर्मचारी मतदान केन्द्रमा परिचालित हुने जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए
भने यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइसकिएको प्रहरी प्रमुख फणीन्द्र प्रसाइँले जानकारी दिए ।

बेनी प्रमुखमा उम्मेदवार सिफारिस

म्याग्दी– नेपाली कांग्रेस बेनी नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा जिल्ला सचिव हरिकुमार श्रेष्ठलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

कांग्रेस पदाधिकारीको सोमबार सम्पन्न बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए । श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

बेनी नगरापलिकामा एमालेले पनि छिट्टै उम्मेदवारको नाम टुंगो लगाउने जनाएको छ । एमालेले आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठ, मोर्चा प्रमुख राजकुमार थापा र प्रचार विभाग प्रमुख सुरत केसीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । (माओवादी केन्द्र) पनि नगरकमिटी अध्यक्ष शेरबहादुर केसी र म्याग्दी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा मध्ये एक जनालाई उम्मेदवार बनाउने तय गरेको जनाएको छ ।

कुनै सुविधा लिन्नः पुन

म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारको सिफारिसमा परेका क्याप्टेन डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् ।

चुनावी अभियानका क्रममा गाउँपालिका अन्तर्गत दोसल्लेमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय सैनिक पुनले समाजसेवा र अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि आफू राजनीतिमा होमिएको बताए ।

आमसभामा उनले भने, “म राजनीतिमा सरकारी सेवा सुविधा प्रयोग गर्नआएको होइन । गाउँपालिका प्रमुखलाई के–कस्तो सुविधा हुन्छ, मलाई थाहा छैन तर, जेजति हुन्छ, त्यो सबै जनतालाई नै दिनेछु’’ । — रासस

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलबार ००:००