२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाका १९ मध्ये १० वडामा इन्टरनेट जडान



शेरबहादुर सिंह
२८ असार, कञ्चनपुर ।

भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका १९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो ।

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणा अनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उनले भने । यस अन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ ।

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ ।

मोबाइल एप्स

उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो ।

मोइबाल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए ।

यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उनले जानकारी दिए ।

नगरपालिकामा ई–हाजिरी

भीमदत्त नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरी अर्थात ई–हाजिरी शुरु गरेको छ । कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाको सातौँ बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धता अनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बताए ।

नौ करोडको लागतमा खानेपानी आयोजना शुरु

शुक्लाफाँटा नगरपालिका– ८ मा नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका लागि बोरिङ गर्न थालिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार ७०० घरधुरी लाभान्वित हुने वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले बताए ।

“चुरे फेदीको बस्ती भएकाले गर्मीका बेला खोला सुक्ने गरेका छन्” उनले भने, “नदी र खोलाको पानीसमेत सुक्छ । स्थानीय बासिन्दाले शुद्ध पानीका लागि निकै सास्ती खेप्नुपर्ने भएकाले आयोजना निर्माणको कार्य अगाडि बढाइएको हो ।”

आयोजना निर्माणपछि सर्वसाधारणले सहजरुपमा शुद्ध पानी पाउने उनले बताए । आयोजना निर्माणको कार्य अगाडि बढेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।
रासस

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार ००:००