१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो



 

१८ असार, अर्जुनधारा– झापा । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा ८ र बुद्धशान्ति २ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् ।

कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्धित निकायका प्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत अख्तियारमा उजुरी दिने बताए ।

गतवर्ष असार २० गते सम्झौता भएको सो कामको जिम्मा संयुक्तरुपमा इलामस्थित गजुरमुखी र खनाल कन्स्ट्रक्सनले प्राप्त गरेका थिए । सडकमा देखिएको समस्याको विषयमा स्थानीयले गुनासो गरेपछि आफूले पटक–पटक ठेकेदार डिल्ली खनाल र जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठलाई जानकारी गराउँदा उनीहरुले बेवास्ता गरी स्थानीयको आँखामा छारो हाल्ने मात्र काम गरेको अर्जुनधारा ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताए ।

त्यसैगरी बुद्धशान्ति २ का वडा सदस्य नेत्रप्रसाद गौतमले बिटुमिन अत्यधिक हिट भई अलकत्राले नपक्रेपछि अलकत्रा उक्किएको हुनसक्ने जिकिर गर्दै प्राविधिकरुपमा सो सडकमा गरिएको काम ठीक नभएको बताए ।

यस विषयमा ठेकेदार खनालसंग बुझ्दा सम्पूर्ण काम मेशिनको प्रयोगबाट गर्ने क्रममा केही प्राविधिक कमजोरी र कमसल सामग्री प्रयोग भएका कारण त्यस्तो भएको स्वीकार गरे ।

यता जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर श्रेष्ठ पनि कमसल सामग्री प्रयोग भएको विषयमा ठेकेदार खनालको कुरामा सहमत छन् । उनी भन्छन्– “ढिलो गर्दा पनि चाँडो गर्नु भन्छन्, “चाँडो गर्दा यस्तै हुन्छ ।”

¥याप थ्रीअन्तर्गत आगामी असार २० गते सम्पन्न गर्नुपर्ने सो आयोजनाको जम्मा लागत पाँच करोड ६५ लाख २४ हजार उल्लेख गरिएको छ । स्टिमेटअनुसार जम्मा ६.३ किलोमिटर काम सम्पन्न हुनुपर्ने सो सडकको चौडाइ ६.७५ मिटर, दायाँ र बायाँ डेढ मिटरको भागमा २० एमएम र मध्य भागमा ३० एमएम थिक्नेस हुनुपर्नेछ ।

हालसम्म ४।५ किलोमिटर मात्र काम सम्पन्न भएको सो सडकको चौडाई कहीँ ६.७५ मिटरभन्दा बढी र कहीँ कम छ ।
रासस

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ००:००