Logo

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध



१८ असार, बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । २ दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमा लेदो माटो र ढुंगासहितको पहिरो खसिरहेको छ । जसले गर्दा पहिरो हटाउने काम अझै सुरू गर्न सकेको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ ।

यो वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण करिब ४ पटक सडक अवरुद्ध भइसकेको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्