५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फलेवासमा एक वडा एक नमूना कृषि फार्म अभियान



१२ असार, फलेवास– पर्वत । फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ ।

फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

नगरपालिकाले भाँडाकुँडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।

यस्तै तीनवटा चक्रपथ निर्माण गर्न नगरपरिषद्ले बजेट विनियोजन गरेको छ । नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ, भित्री सडकको सञ्जाल जोडेर भित्री तथा फलेवास क्षेत्रका देवीस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गरेको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ–आम्डी–पाङराङ–कुर्घाडाँडा–सलिनधारा–पतियार–थापाठाना सडकका लागि ६० लाख विनियोजन गरिएको छ । देवीस्थान–शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडकका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ ।

फलेवासले आगामी आवका लागि कूल आयतर्फ ४६ करोड ७६ लाखमध्ये चालू खर्चतर्फ ३३ करोड पाँच लाख ५१ हजार तथा पूँजीगततर्फ १३ करोड ७१ लाख ४४ हजार विनियोजन गरेको छ ।
रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००