१२ असार, फलेवास– पर्वत । फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ ।
फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
नगरपालिकाले भाँडाकुँडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
यस्तै तीनवटा चक्रपथ निर्माण गर्न नगरपरिषद्ले बजेट विनियोजन गरेको छ । नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ, भित्री सडकको सञ्जाल जोडेर भित्री तथा फलेवास क्षेत्रका देवीस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गरेको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ–आम्डी–पाङराङ–कुर्घाडाँडा–सलिनधारा–पतियार–थापाठाना सडकका लागि ६० लाख विनियोजन गरिएको छ । देवीस्थान–शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडकका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ ।
फलेवासले आगामी आवका लागि कूल आयतर्फ ४६ करोड ७६ लाखमध्ये चालू खर्चतर्फ ३३ करोड पाँच लाख ५१ हजार तथा पूँजीगततर्फ १३ करोड ७१ लाख ४४ हजार विनियोजन गरेको छ ।
रासस

प्रतिक्रिया