१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब



 

५ असार, कञ्चनपुर । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५/०७६ का लागि बजेट ल्याएको छ ।

भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार १ अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष १ अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो ।

बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आवका लागि आन्तरिक आम्दानी १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तीय समानीकरणबाट २५ करोड ५६ लाख, सशर्त अनुदान ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट १४ करोड ३३ लाख, सामाजिक सुरक्षातर्फ १८ करोड, लागत सहभागितातर्फ १ करोड, क्षेत्रीय शहरी विकास आयोजना चार करोड ३५ लाख, सडक बोर्ड ७२ लाख र सीमाक्षेत्र विकास कार्यक्रमबाट ४५ लाख आम्दानी अनुमान गरिएको छ ।

आन्तरिक आम्दानीको छ करोड ४९ लाख साधारणतर्फ १८ लाख पूँजीगत, म्याचिङ फण्ड ७५ लाख, आय फिर्ता एक करोड २५ लाख र ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ ।

वित्तीय समानीकरणको बजेट वडा कार्यालयका लागि एक करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि ९ करोड र पूँजीगतमा १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँडको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुशीलाचन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।

बजेटमा नगर सभासद्ले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए ।

नगरपालिकाका प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोतसाधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश नं ७ को नमूना र व्यवस्थित शहर बनाउने नीतिसहित अल्पकालीन र दीर्घकालीन योजनासहित आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइएको बताए ।

“सबै नगरवासीको सहयोगमा यो बजेट कार्यान्वयन गर्न चाहन्छौ, यसमा सबैको साथ र सहयोग हुने आशा गरेका छौ” नगर प्रमुख विष्टले भने ।
रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार ००:००